सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको चौराहमा चिरा परेको सडक मर्मत भएन, हस्तान्तरणमा ढिलाई

२०८० मंसिर ५, ०४:५७ कमल सावद

धनगढीः मोहनापुल–अत्तरिया ६ लेन सडक चिरा परेको क्षेत्रमा अझै मर्मत भएको छैन। मोहनापुल–अत्तरिया ६ लेन सडक निर्माणको काम पूरा नहुँदै भासिएको र  चिरा परेको थियो। ६ लेन सडकको दोस्रो र तेस्रो खण्डमा मर्मत भए पनि पहिलो खण्डमा शर्मा अमर नागार्जुन जेभीले चिरा परेको सडक मर्मत गरेको छैन।

धनगढीको ट्राफिक चौराह र कैलाली भन्सार कार्यालय अगाडि सडकको कालोपत्र चिरा परेको छ। दोस्रो र तेस्रो खण्ड निर्माणको जिम्मा पाएको राजेन्द्र निर्माण सेवाले मर्मत गरेको भए पनि पहिलो खण्डको सडक मर्मत हुने कुनै टुङ्गो छैन। कालोपत्र गरेको सडक दुई किलोमिटरसम्म भासिएपछि राजेन्द्र निर्माण सेवाले मर्मत गरेको थियो। दुई किलोमिटर क्षेत्रमा सडक भासिने, भत्किने र चिरा परेपछि मर्मतको माग हुँदै आएको थियो। मोहनापुल–अत्तरिया ६ लेन सडक योजना कार्यालयले हस्तान्तरण नहुँदै सडक भासिएकाले मर्मतका लागि आग्रह गर्दै आएको थियो।

अहिले ६ लेन सडक योजना कार्यालय नै खारेज गरेर महाकाली पुल आयोजना मातहत सडक आएको छ। सडक विभागको विज्ञ समूहले भासिएको क्षेत्रमा पुनः मर्मत गर्न सुझाव दिएको थियो। महाकाली पुल योजना कार्यालयका इन्जिनियर सन्तोष चन्दले  मोहनापुल–अत्तरिया ६ लेन सडकको दोस्रो र तेस्रो खण्डमा मर्मत भए पनि पहिलो खण्डको सडक मर्मत नगरिएको बताए। दोस्रो र तेस्रो खण्डको सडकमा रेलिङ्गको काम भने नसकिएको उनले बताए। उनले भने, ‘धनगढीको चौराह, भन्सार क्षेत्रमा सडक चिरा परेको छ। चिरा परेको सडक निर्माण कम्पनीले मर्मत गर्ने हो। एक वर्षसम्म उहाँहरुले सडकको रेखदेख गर्ने समय हुन्छ। हामीले सडक भासिएकाले हस्तान्तरण पनि गरेका छैनौँ। उहाँहरुले सबै ठिक गरेपछि मात्र हस्तान्तरण हुन्छ। सडक डिभिजन कार्यालय, महेन्द्रनगरलाई हस्तान्तरण गर्ने हो।’

इन्जिनियर चन्दले सवारीको क्षमता र अलकत्राको प्रयोग बढी भएकाले सडक भासिएको हो। कालोपत्र भासिएकाले उक्त क्षेत्रमा सवारी साधन चलाउन समेत समस्या हुने गरेको छ। सडक विभागले गरेको अनुसन्धानमा कालोपत्र गर्दा अलकत्राको प्रयोग बढी भएपछि सडक भासिएको उल्लेख छ। उक्त क्षेत्रमा सञ्चालनमा हुने सवारीको भार क्षमताको समेत आँकलन नभएकाले पनि सडक चिरा पर्ने, भासिने र फुट्ने समस्या देखिएको हो।

२०७४ जेठमा दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सो सडको ठेक्का सम्झौता भएको थियो। १४ दशमलव ६ किलोमिटर लम्बाईको यो सडकलाई तीन खण्डमा ठेक्का लगाइएको थियो। पहिलो खण्डको ठेक्का शर्मा अमर नागार्जुन जेभीको थियो भने दोस्रो र तेस्रो खण्डको ठेक्का राजेन्द्र निर्माण सेवाले पाएको थियो। 

मोहनापुलदेखि अत्तरियासम्म विभिन्न ठाँउमा सडक भत्किएको, दब्बिएको, चिरा परेको र खाल्टाखुल्टी परेकाले अहिलेसम्म हस्तान्तरणसमेत भएको छैन। सडकमा ट्राफिक संकेत राख्न बाँकी छ भने रङ्रोगनको कामसमेत पूरा भएको छैन। एक अर्ब ६८ करोडमा निर्माण भएको मोहनापुल–अत्तरिया ६ लेन सडकको विभिन्न ठाउँमा निर्माण पूरा नहुँदै कैफियत देखिएको हो। 

मोहनापुल–अत्तरिया ६ लेन सडकमा नयाँ प्रविधि मार्फत कालोपत्र गरेका निर्माण कम्पनीले अलकत्रा मिसावटको मात्रामा तालमेल मिलाउन नसक्दा सडक भाँसिएको विज्ञहरुले बताएका छन्। विज्ञले अलकत्राको मात्रा बढी भएकाले सडक भासिएको रिपोर्ट दिएका थिए। 

भासिएको मोहनापुल–अत्तरिया ६ लेन सडक यसरी हुँदैछ पुनःमर्मत

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस