सुदूर नेपाललाई विश्वसँग जोड्दै

भासिएको मोहनापुल–अत्तरिया ६ लेन सडक यसरी हुँदैछ पुनःमर्मत

२०८० असार १०, १०:३१ कमल सावद

धनगढीः मोहनापुर–अत्तरिया ६ लेन सडकको दोस्रो र तेस्रो प्याकेज निर्माणको जिम्मा राजेन्द्र निर्माण सेवाको हो। सो निर्माण सेवाले कालोपत्र गरेको सडक दुई किलोमिटरसम्म भासिएको छ। दुई किलोमिटर क्षेत्रमा सडक भासिने, भत्किने र चिरा परेपछि मर्मतको माग हुँदै आएको थियो। मोहनापुल–अत्तरिया ६ लेन सडक योजना कार्यालयले हस्तान्तरण नुहुँदै सडक भासिएकाले मर्मतका लागि आग्रह गर्दै आएको थियो। तर निर्माण कम्पनीले मानेको थिएन्।

सडक योजना कार्यालय नै खारेज गरेर महाकाली पुल आयोजनालाई ६ लेन सडक हस्तान्तरण गरिएको थियो। सडक विभागको विज्ञ समूहले भासिएको क्षेत्रमा पुनः मर्मत गर्न सुझाव दिएपछि अहिले सडक मर्मतको काम थालिएको छ। महाकाली पुल योजना कार्यालयका प्रमुख रामबहादुर गुरुङले मोहनापुल–अत्तरिया ६ लेन सडकको भासिएको क्षेत्रमा मर्मत थालिएको बताए।

उनले भने, ‘उठेको भाग काटेर फाल्ने। बगेको क्षेत्रमा मर्मत गर्ने हो। ३० एमएमको कालोपत्र गर्ने योजना छ।’ उनका अनुसार सवारीको क्षमता र अलकत्राको प्रयोग बढी भएकाले सडक भासिएको हो। मोहनापुल–अत्तरिया ६ लेन सडकको लम्बाई १४ दशमलव ६ किलोमिटर छ। पहिलो खण्डको ट्राफिक चौराह र भन्सार क्षेत्रमा सडक चिरा परेको छ।

दोस्रो र तेस्रो खण्डको मोहनपुर तथा गेटा क्षेत्रको सडक खण्डमा चिरा परेको छ। सडकको कालोपत्र नै भासिएको छ। नयाँ प्रविधि अनुसार गरिएको कालोपत्र भासिएकाले उक्त क्षेत्रमा सवारी साधन चलाउन समेत समस्या हुने गरेको चालकको गुनासो छ। सडक विभागले गरेको अनुसन्धानमा कालोपत्र गर्दा अलकत्राको प्रयोग बढी भएपछि सडक भासिएको उल्लेख छ। उक्त क्षेत्रमा सञ्चालनमा हुने सवारीको भार क्षमताको समेत आँकलन नभएकाले पनि सडक चिरा पर्ने, भासिने र फुट्ने समस्या देखिएको गुरुङले बताए।

२०७४ जेठमा दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सो सडको ठेक्का सम्झौता भएको थियो। १४ दशमलव ६ किलोमिटर लम्बाईको यो सडकलाई तीन खण्डमा ठेक्का लगाइएको थियो। पहिलो खण्डको ठेक्का शर्मा अमर नागार्जुन जेभीको थियो भने दोस्रो र तेस्रो खण्डको ठेक्का राजेन्द्र निर्माण सेवाले पाएको थियो। दोस्रो ठेक्काको सडक बढी भासिएको छ। पहिलो ठेक्कामा पनि सडक केही ठाउँमा चिरा परेको छ।

मोहनापुलदेखि अत्तरियासम्म विभिन्न ठाँउमा सडक भत्किएको, दब्बिएको, चिरा परेको र खाल्टाखुल्टी परेको देख्न सकिन्छ। एक अर्ब ६८ करोडमा निर्माण भएको मोहनापुल–अत्तरिया ६ लेन सडकको विभिन्न ठाउँमा निर्माण पुरा नहुँदै कैफियत देखिएको थियो। सडकको कालोपत्र भत्किएको दुई किलोमिटर क्षेत्रमा निर्माणको जिम्मा पाएको राजेन्द्र निर्माण सेवाले मर्मत थालेको छ।

मोहनापुल–अत्तरिया ६ लेन सडकमा नयाँ प्रविधि मार्फत कालोपत्र गरेका निर्माण कम्पनीले अलकत्रा मिसावटको मात्रामा तालमेल मिलाउन नसक्दा सडक भाँसिएको विज्ञहरुले बताएका छन्। विज्ञले अलकत्राको मात्रा बढी भएकाले सडक भासिएको रिपोर्ट दिएका छन्। विज्ञहरुको रिपोर्ट र सुझावका आधारमा निर्माण कम्पनीले भासिएको सडक मर्मत गरेर लेबल मिलाउने दाबी छ।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस