सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अस्पताल परिसरका होटेलबाट बासी खानेकुरा बरामद

२०८० मंसिर ५, ११:१० खबर संवाददाता

धनगढी: धनगढी उपमहानगरपालिकाको बजार अनुगमन तथा उपभोक्ता हित संरक्षण समितिले सेती प्रादेशिक अस्पताल परिसरमा रहेका तीन होटेलबाट बासी खानेकुरा बरामद गरी नष्ट गरेको छ। सोमवार गरिएको अनुगमनमा अस्पताल परिसरमा रहेको चमेना गृहसहित थप दुई होटेलबाट बासी र अखाद्य खाना बरामद गरी नष्ट गरिएको हो।

उपमहानगरपालिकाका अनुसार सेती अस्पताल परिसरमा रहेको खाना तथा नास्ता पसल, भूमिराज होटेल र डडेल्धुरा होटेलमा अखाद्य बस्तु बरामद गरेको बजार अनुगमन समितिका संयोजक टेकराज भट्टले बताए । अस्पताल परिसरको चमेना गृह अर्थात् खाना तथा नास्ता पसलबाट बिग्रिएको म:म ४०, मुसाले खाएको चाउचाउ तीन प्याकेट, बासी समोसा तीन वटा र रङ्ग प्रयोग गरेको कुखुराको मासु तीन केजी बरामद गरिएको बजार अनुगमन समितिका संयोजक भट्टले बताए। चमेना गृह अर्थात् खाना तथा नास्ता पसलमा सात दिन भित्र भान्सा र भाडा धुने ठाउँ अलग-अलग बनाउन र माछा, मासु तथा तरकारी भण्डारण गर्ने फ्रिज/डिप फ्रिज छुट्‍टाछुट्‍टै व्यवस्थापन गर्न निर्देशन दिइएको छ।

यस्तै, भूमिराज होटलबाट बासी समोसा ११ वटा, २ थाली बासी भात,  कुखुराको बासी मासु ५०० ग्राम,बासी रोस्ट ५०० ग्राम बरामद गरेको भट्टले बताए। यसैगरी, डडेलधुरा होटेलबाट रङ्ग प्रयोग गरेको चाउमिन ५०० ग्राम, बासी समोसा २० वटा र सेमी ५०० ग्राम बरामद गरेको भट्टले बताए।

कमेन्ट लोड गर्नुस