सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको चुरेको सुन्तला बारीमै पुगेर खरिद गर्दै व्यापारी

२०८० मंसिर ४, ०७:०३ नारायण अवस्थी

धनगढी: कैलाली जिल्लाको चुरे गाउँपालिका र मोहन्याल गाउँपालिकामा सुन्तला खेती हुने गरेको छ। चुरेमा कुल उत्पादनको ८० प्रतिशत र मोहन्याल गाउँपालिकामा २० प्रतिशत सुन्तला उत्पादन हुने गरेको छ।

कृषि ज्ञान केन्द्र कैलालीका अनुसार कैलालीमा गत वर्ष १७० हेक्टर क्षेत्रमा गरिएको सुन्तला खेतीबाट १ हजार ८२० मेट्रिकटन सुन्तला उत्पादन भएको थियो। यो वर्ष तथ्याङ्क अझै संकल्न गरिएको छैन, तर, गत वर्षको भन्दा यो वर्ष सुन्तलाको उत्पादन केही कम हुने कृषि ज्ञान केन्द्र कैलालीका कृषि तथ्याङ्क शाखा प्रमुख श्यामराज जोशीले बताए। "यो वर्ष गत वर्षभन्दा थोरै उत्पादन घट्ने अनुमान गरिएको छ। हिउँदमा सिँचाइको अभाव र किसानले माघ/ फागुनसम्म रुखमा सुन्तला राख्ने भएकाले कम उत्पादन हुने सम्भावना छ," उनले भने, "चुरेमा गत वर्ष प्रति हेक्टर करिब ११ मेट्रिकटन सुन्तला उत्पादन भएको देखिन्छ।"

चुरेमा हरेक वर्ष सुन्तला खेती गर्ने किसानको संख्य बढिरहेको छ। हरेक वर्ष चुरेमा सुन्तला खेतीको क्षेत्रफल र किसानको संख्या बढिरहेको किसान तिर्थराज जोशीले बताए। "चुरेको साबिक निगाली गाविसमा सुन्तला खेती हुन्छ। यहाँ हरेक किसानले सुन्तला खेती गर्छन्। हरेक वर्ष सुन्तलाको क्षेत्र बढिरहेको छ," जोशीले भने।

चुरे-१ निगालीका टेकबहादुर बमले १५० रोपनीमा सुन्तला खेती गरेका छन्। सुन्तला खेती गर्ने बम उनको परिवारका दोस्रो पुस्ताका किसान हुन्। बुवाको पालादेखि सुन्तला खेती गर्दै आएका बमले हरेक वर्ष सुन्तला खेती बढाइरहेका छन्। बम जस्तै उनका गाउँका हरेक परिवारले सुन्तला खेती गर्छन्। गाउँमै सडक पुगेकाले उत्पादन भएको सुन्तला बिक्री गर्न किसानहरूलाई समस्या छैन। धनगढी र महेन्द्रनगरका व्यापारी बारीमै पुगेर प्रति किलोग्राम ८०-८५ मा सुन्तला खरिद गरिरहेको किसान टेकबहादुर बमले बताए। "निगालीको हरेक किसानले सुन्तला लगाएका छन्। उत्पादन पनि राम्रो छ, बजार पाउन पनि समस्या छैन," उनले भने, "धनगढी र महेन्द्रनगरबाट व्यापारी आएर बारीबाट ८०-८५ किलोग्रामका दरले सुन्तला खरिद गरिरहेका छन्।"

चुरेको सुन्तला धनगढी, अत्तरिया, महेन्द्रनगर लगायतका कैलाली र कञ्चनपुरका बजारमा बिक्री हुने गर्छ। व्यापारीहरू खरिद गर्न गाउँमै आउन थालेपछि सुन्तला, जुनार, कागती र अमिलो खेतीमा किसानको आकर्षण बढेको छ। कृषि ज्ञान केन्द्र कैलालीका अनुसार सुन्तलाका अतिरिक्त चुरेमा जुनार २४ हेक्टर, कागती २६ हेक्टर र अमिलो ४२ हेक्टरमा खेती गरिएको छ।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस