सुदूरपश्चिममा दशैँ–तिहारमा १९७ जना जुवाडे पक्राउ
धनगढीः सुदूरपश्चिमबाट यो वर्षको दशैँ र तिहारमा नेपाल प्रहरीले १९७ जना जुवाडेलाई पक्राउ गरेको छ। प्रदेशका ९ जिल्ला मध्ये ७ जिल्लाबाट प्रहरीले जुवाडे पक्राउ गरेको हो।
दशैँ र तिहारमा जुवा खालबाट सबभन्दा बढी कैलालीबाट पक्राउ परेका छन्। प्रहरीले एक महिनाको अवधिमा कैलालीबाट ७० जना जुवाडे पक्राउ गरेको हो। प्रदेश प्रहरी कार्यालय धनगढीले उपलब्ध गराएको तथ्याङ्कमा कैलालीबाट २३ गड्डी ताससहित जिल्लाको विभिन्न ९ स्थानबाट जुवाडेसहित ५ लाख ३४ हजार ७०६ रुपैयाँ नगद बरामद गरेको छ।
दोस्रो नम्बरमा बढी जुवाडे कञ्चनपुरमा पक्राउ परेका छन्। कञ्चनपुरको विभिन्न ५ स्थानबाट ५७ जना जुवाडे, १२ गड्डी तास र ४ लाख ३१ हजार ८८४ रुपैयाँ प्रहरीले बरामद गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
तेस्रोमा बढी सङ्ख्यामा जुवाडे डडेल्धुरा जिल्लामा पक्राउ परेका छन्। यो जिल्लामा दशैँ र तिहारमा विभिन्न ३ स्थानबाट २७ जना जुवाडे पक्राउ परेका छन्। उनीहरूको साथबाट प्रहरीले १२ गड्डी तास र नगद ५१ हजार ५०४ रुपैयाँ बरामद गरेको छ।
प्रहरीले अछाम जिल्लाको दुई स्थानबाट १६ जना जुवाडे, ६ गड्डी तास र ८६ हजार ८९० रुपैयाँ बरामद गरेको छ भने डोटीमा एक स्थानबाट १२ जना जुवाडे पक्राउ परेका छन्। डोटीमा जुवा खालबाट ३ गड्डी तास र नगद १ लाख ८४ हजार ६८० रुपैयाँ बरामद भएको छ।
बाजुरामा एक स्थानबाट ३ गड्डी तास र नगद ४० हजार १४५ रुपैयाँसहित ८ जना जुवाडे पक्राउ परेका छन् भने दार्चुलामा एक स्थानबाट ७ जना जुवाडे, ६ गड्डी तास र नगद ४३ हजार ३ सय रुपैयाँ बरामद भएको प्रदेश प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ।
नेपाल प्रहरीले दशैँ र तिहारको समयमा प्रदेशका विभिन्न २२ स्थानबाट जुवाडेहरूलाई पक्राउ गरेको हो। जुवा खालबाट प्रहरीले १३ लाख ७३ हजार १०९ रुपैयाँ बरामद गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।
प्रदेश प्रहरी कार्यालयले प्रदेशभर दशैँ र तिहारमा जुवा तास नियन्त्रण गर्न ९ वटै जिल्लामा प्रहरीको निगरानी बढाएको थियो। सुराकी र सादा पोसाकका प्रहरी टोली परिचालन गरेर जुवा खेलिरहेका स्थानको पहिचान गरेर जुवाडेहरूलाई पक्राउ गरिएको हो।