सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतलाई ६ विकेटले हराउँदै अस्ट्रेलियाले चुम्यो कीर्तिमानी छैटौँ उपाधि

२०८० मंसिर ३, १०:२९ खबर संवाददाता

काठमाडौं: भारतलाई हराउँदै अष्ट्रेलियाले विश्वकप क्रिकेटको उपाधि जितेको छ। आईतबार भारतविरुद्ध ६ विकेटको शानदार जित निकाल्दै अष्ट्रेलियाले छैटौं पटक एकदिवसीय विश्वकपको उपाधि हात पारेको हो। 

कंगारु टिमका जितका नायक रहे, ट्रेभिस हेड। उनको शानदार शतकमा अष्ट्रेलियाले भारतलाई सहजै हराएको हो। हेडले १ सय ३५ रनको शानदार शतक बनाए। उनले १५ चौका र ४ छक्काको मदातले सो रन बनाएका हुन्। उनले चौथों विकेटका मार्नस लाबुसेनसँग मिलेर १ सय ९२ रनको साझेदारी गर्दै टिमको जित निश्चित गरेका थिए। 

४७ रनमा ३ विकेट झारेर भारत खेलमा हाबी हुन खोजेपनि हेडले उत्कृष्ट ब्याटिङ प्रर्दशन गर्दै अष्ट्रेलियाको जितको आधार खडा गरेका थिए। लाबुसेनले अविजित ५८ रन बनाए। ओपनर डेभिड वार्नर रनमा आउट हुँदा मिचेल मार्स १५ रनमा पोविलियन फर्किएका थिए। स्टेभन स्मिथ समेत जसप्रीत बुम्राहाको बलमा बोल्ड हुन पुगेका थिए।

बुम्राहाले २ तथा मोहमद सामी र मोहमद सिराजले समान एक एक विकेट झारे। अहमदाबादमा अष्ट्रेलियाले टस जितेर फिल्डिङ रोजेपछि सुरुवाती ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा १० विकेट गुमाएर २ सय ४० रन बनाएको थियो। 

केएल राहुलको ६६ रनको विराट कोहलीले ५४ रन बनाएका थिए। कप्तान रोहित शर्माले ४७, सुर्यकुमार यादवले १८, कुलदीप यादवले १०, सुभमन गिल र श्रेयश अय्यरले समान ४, रविन्द्र जडेजाले ९, मोहमद सामीले ६ र जसप्रीत बुम्राहाले १ रन बनाएका थिए । मोहमद सिराज ९ रनमा अविजित रहे। 

अष्ट्रेलियाका मिचेल स्टार्सले ३ तथा जोस हेजलउड र प्याट कमिन्सले समान २ विकेट झारे। ग्लेन म्याक्सवेल र एडम जम्पाले समान एक एक रन बनाए। लिग चरणको खेलमा अष्ट्रेलियालाई पराजित गरेपनि नकआउट चरणमा भारतले जित निकाल्न सकेन। अष्ट्रेलियाले छैटौं पटक प्रतियोगिताको उपाधि जितेको हो । एकदिवसीय विश्वकपमा अष्ट्रेलिया सबैभन्दा सफल टिम हो। 

कमेन्ट लोड गर्नुस