सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमै आगलागी नियन्त्रण गर्न पूर्वाधारको अभाव, छैन अत्याधुनिक दमकल

२०८० मंसिर ३, ११:३३ नारायण अवस्थी

धनगढी: सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढीमै आगलागी नियन्त्रणको पूर्वाधारको अभाव छ। पेट्रोल, डिजेल, ग्यास र विद्युतका कारण ठुला आगलागीका घटना भए नियन्त्रणका लागि आवश्यक अत्याधुनिक दमकलको धनगढीमै अभाव छ। धनगढी उपमहानगरपालिका सहित प्रदेशका अन्य सहरी क्षेत्रमा ठुलो आगलागी भए तत्काल नियन्त्रणमा लिन नसकिने अवस्था छ। जसका कारण आगलागीका घटनाबाट ठुलो आर्थिक र भौतिक क्षति हुने जोखिम छ।

आगलागीबाट बच्न स्थानीय तहले ठुला भवन निर्माण गर्दा आगलागी नियन्त्रणको स्थायी संरचना बनाउनुपर्ने सुझाव दिइएको छ। हरेक वर्ष स्थानीय तहहरूले सेफ्टी अडिड गर्ने प्रणाली विकास गरे आगलागीका घटनाबाट बच्न सकिने विज्ञले सुझाव दिएका छन्। आगलागी विज्ञले स्थानीय तहले हरेक वर्ष सेफ्टी अडिट गर्ने र ठुला भवनहरूमा आगलागी नियन्त्रणको स्थायी संरचना बनाउन लगाउने मापदण्ड लागु गर्नुपर्ने काठमाडौँ महानगरपालिकाका दमकल शाखाका पूर्व प्रमुख एवं आगलागी नियन्त्रण विज्ञ किशोरकुमार भट्टराईले दिनेशखबरलाई बताए।

शुक्रवार राति भएको आगामीमा धनगढीको सारथी अस्पतालसहितका अन्य पसलमा विद्युत् सर्ट भएर आगलागी भएको थियो। आगलागीमा करिब १८ करोडको धनमालको क्षति भएको प्रहरीको प्रारम्भिक रिपोर्टले देखाएको छ। विद्युत सर्ट हुँदा भएको आगलागी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी र धनगढी उपमहानगरपालिकाका अग्नि नियन्त्रकहरूको प्रयासमा नियन्त्रणमा लिइएको थियो।

शुक्रवार भएको आगलागी नियन्त्रण गर्न धनगढीका अतिरिक्त गोदावरी र पुनर्वास नगरपालिकाको दमकल प्रयोग गर्नुपरेको थियो। विद्युत् सर्ट भएर ठुला भवनहरूमा हुने आगलागी नियन्त्रण गर्न सामान्य दमकल मात्रै पर्याप्त नहुने अग्नि नियन्त्रण विज्ञ भट्टराईले बताए। पेट्रोल,डिजेल, ग्यास र विद्युत सर्ट भएर हुने आगलागी नियन्त्रण गर्न दुई चार हजार पानी बोक्ने दमकलले मात्र गर्न नसकिने, ठुला आगलागी नियन्त्रण गर्न फोम फाल्ने दमकल आवश्यक हुने भट्टराईले बताए। 'धनगढी उपमहानगरपालिकासँग भएको दमकलले सानो आगलागी नियन्त्रण गर्न सक्छ तर ठूलो आगलागी नियन्त्रण गर्न सक्दैन,' उनले भने, 'बहुतले भवनहरूमा पेट्रोल, डिजेल, ग्यास र विद्युत् सर्ट भएर हुने आगलागी नियन्त्रण गर्न अत्याधुनिक दमकल आवश्यक हुन्छ। ठुला भवनहरूमा आगलागी नियन्त्रणको स्थायी संरचना समेत हुनुपर्छ।'

ठुला भवनहरूमा आगलागी तुरुन्त नियन्त्रण गर्न सकियोस् भनेर आगलागी नियन्त्रणको स्थायी संरचना बनाउनुपर्ने विज्ञले बताएका छन्। उपमहानगरले अस्पताल, कलेज, सपिङ कम्प्लेक्स, पार्टी प्यालेस जस्ता ठुला संरचना बनाउन अनुमति दिँदा अनिवार्य आगलागी नियन्त्रणको स्थायी संरचना बनाउन लगाउने र वार्षिक रूपमा सार्वजनिक प्रतिष्ठानहरूको सेफ्टी अडिट गर्नुपर्ने सुझाव भट्टराईको छ। 'उपमहानगरले भवनको नक्सा पास गर्दा आगलागी नियन्त्रणको स्थायी संरचना बनाउने प्रावधानको पालना गर्न लगाउनुपर्छ। यसका साथै उपमहानगरले ठुला संरचनाहरूको वार्षिक सेफ्टी अडिट गर्नुपर्छ। जसले गर्दा आगलागीको जोखिमबाट बच्न सकिन्छ,' भट्टराईले भने। 

धनगढी लगायत सुदूरपश्चिमका स्थानीय तहहरूसँग सामान्य आगलागी नियन्त्रण गर्न सक्ने दमकल मात्रै रहेका छन्। यी दमकलहरूले सामान्य आगलागी नियन्त्रण गर्न सक्ने भए पनि पेट्रोल, डिजेल, विद्युत्, ग्यास र अन्य रसायनबाट हुने आगलागी नियन्त्रण गर्न सक्दैनन्। पेट्रोलियम पदार्थ र विद्युत सर्ट भएर आगलागी भए फोमयुक्त अत्याधुनिक दमकल आवश्यक हुन्छ। धनगढीमा ठुला-ठुला भौतिक संरचना बनेका छन् भने यी भवनहरूमा आगलागी भए नियन्त्रण गर्ने क्षमता उपमहानगरपालिकासँग छैन। आगलागीको जोखिमबाट बच्न भवन निर्माण मापदण्डमा अनिवार्य आगलागी नियन्त्रणको स्थायी संरचना निर्माण गर्न लगाउने र धनगढी उपमहानगरपालिकाले अत्याधुनिक दमकल खरिद गर्नुपर्ने देखिन्छ।

तर, धनगढीमै आगलागी नियन्त्रणको पूर्वाधार अभाव छ भने सर्वसाधारणमा जनचेतनाको समेत कमि छ। धनगढी उपमहानगरले अत्याधुनिक दमकल उपलब्ध गराउन प्रदेश सरकारलाई अनुरोध गरेको नगर प्रमुख गोपाल हमालले बताए। "धनगढीमा सहरीकरण तिव्र रुपमा बढेको छ। आगलागीबाट बच्न हामीले विपत् व्यवस्थापन शाखाको क्षमता वृद्धि गर्ने, आवश्यक औजार र उपकरण खरिद गर्ने काम गर्दैछौँ,' उनले भने, 'आगलागी नियन्त्रणका लागि उपमहानगरसँग अत्याधुनिक दमकल छैन। हामीले प्रदेश सरकारसँग दमकलका लागि अनुरोध गरेका छौँ।'

धनगढीमा बढ्दो सहरीकरणसँगै ठुला भवन र व्यापारिक प्रतिष्ठान बनिरहेका छन्। उपमहानगरपालिकाले ठुला सार्वजनिक भवनहरूमा आगलागी नियन्त्रणको स्थायी संरचना निर्माण गर्न र वार्षिक रूपमा सेफ्टी अडिट राख्न आगलागी विज्ञले आग्रह गरेका छन्।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस