सुदूर नेपाललाई विश्वसँग जोड्दै

जापानलाई ४५ रनले हराउँदै नेपाल बन्यो तेस्रो

२०८० मंसिर ३, १०:२१ खबर संवाददाता

काठमाडौंः चार देशीय महिला टी–ट्वेन्टी सिरिजमा नेपाल तेस्रो बनेको छ। आज भएको खेलमा नेपालले जापानलाई ४५ रनले पराजित गरेको हो। हङकङ क्रिकेट क्लबको मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर एक सय १५ रन बनाएको थियो।

एक सय ११६ रनको विजयी लक्ष्यसहित ब्याटिङ गरेको जापानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ७० रन मात्र बनाउन सक्यो। जापानका लागि अकारी निसिमुराले २९ रन बनाइन भने हिनासी गोतोले १६ तथा अहिल्या चन्डलले ११ रन बनाइन्। जापानका अन्य ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन्।

जापानलाई सस्तैमा समेट्न खुशी राई, संगीता राई, इन्दू बर्मा र सीता रानामगर र सोनी पाख्रिनले एक एक विकेट लिए। त्यस अघि नेपालकी ओपनर पूजा महतोले उत्कृष्ट ब्याटिङ गर्दै सर्वाधिक ४३ रन जोडिन्। उनले ३ चौका प्रहार गरिन्। यस्तै रोमा थापाले २२ र रुबिना क्षेत्रीले २१ रन बनाइन्। कप्तान इन्दु बर्माले १२ रन बनाइन्। जापानकी अहिल्या चन्डल, एरिका तोगुची र आयुमी फुजिकावाले १–१ विकेट लिए।

नेपाल र जापानसहित आयोजक हङकङ र तान्जानिया सहभागी भएको सिरिजको सुरुवातका दुवै खेलमा नेपाल पराजित भएको थियो। यसअघि समूह चरणको अन्तिम खेलमा शनिबार नेपालले जापानलाई ६७ रनले पराजित गरेको थियो। पहिलो खेलमा तान्जानियासँग २७ रनले पराजित नेपालले दोस्रो खेलमा आयोजक टोलीसँग ९ विकेटको हार ब्यहोरेको थियो।

जापान समूह चरणका तीनवटै खेलमा पराजित भएको थियो। आजै पौने १२ बजे सुरु हुने फाइनल खेलमा तान्जानिया र हङकङ खेल्नेछन्। शनिबार भएको समूह चरणको अन्तिम खेलमा पनि यी दुई टिमले खेलेका थिए। उक्त खेलमा हङकङ १० विकेटले विजयी भएको थियो। महिला टी–२० सिरिजमा आयोजक हङकङसँगै नेपाल, तान्जानिया र जापान सहभागी छन्। 

कमेन्ट लोड गर्नुस