उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै

एकदिवसीय विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलियाबिच प्रतिस्पर्धा हुँदैछ। अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समयअनुसार आज दिउँसो सवा २ बजे फाइनल खेल सुरु हुनेछ।
सेमिफाइनल खेलमा भारतले न्युजिल्याण्डलाई र अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई हराएर फाइनलमा स्थान बनाएका थिए।
भारतले बुधबार पहिलो सेमिफाइनलमा न्युजिल्याण्डलाई ७० रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो। बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई ३ विकेटले हराउँदै फाइनलमा पुगेको हो। विश्वकपको फाइनलमा दुवै टोली आमनेसामने भएको यो दोस्रो पटक हो। सन् २००३ को विश्वकपमा अस्ट्रेलियाले नै भारतलाई पराजित गरेको थियो।
त्यस बेला अस्ट्रेलियाले भारतलाई १२५ रनले हराएर विश्वकप हात पारेको थियो। यसपटक भारतलाई २००३ को बदला लिने अवसर जुरेको छ भने अस्ट्रेलियालाई इतिहास दोहो¥याउने। यस विश्वकपको विजेताले ४० लाख अमेरिकी डलर अर्थात करिब ५३ करोड नेपाली रुपैयाँ पाउनेछन्। जबकि उपविजेताले २० लाख अमेरिकी पुरस्कार प्राप्त गर्नेछन्।
सेमिफाइनलमा हारेका न्युजिल्यान्ड र दक्षिण अफ्रिका दुवैले आठ लाख डलर पाएका छन्। लिग चरणबाट बाहिरिएका सबै ६ टोलीले एक–एक लाख डलर प्राप्त गरेका छन्। यसका साथै लिग चरणमा १० वटै टोलीबिच खेलेका ४५ खेलको विजेता टोलीलाई प्रत्येक खेलमा विजयी भएबापत ४० हजार डलर प्रदान गरिने छ।



