बैतडीमा बिडिसिए कप मंसिर १६ गतेदेखि

बैतडीः बैतडीमा बिडिसिए कप मंसिर १६ गतेदेखि हुने भएको छ। बैतडी जिल्ला क्रिकेट संघले आयोजना गर्दै आएको बिडिसिए कप क्रिकेट प्रतियोगिता यस वर्ष कप वान डे फम्र्याटमा खेलाइने बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्दले बताए।
विगत बर्षहरुमा टी–२० फम्र्याटमा सञ्चालन हुँदै आएको प्रतियोगिता यस वर्ष ५० ओभरमा खेलाइन लागेको उनले बताए। प्रतियोगितामा संघमा आवद्ध १४ क्लबको सहभागिता रहने अध्यक्ष चन्दले जानकारी दिए। बिडिसिए कपका सबै खेल दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा सञ्चालन हुने क्रिकेट प्रशिक्षक दिपेन्द्र बोहराले बताए।
प्रतियोगितामा १६ वर्ष मुनिका खेलाडीहरुलाई समावेश नगराइने भएको छ। एक टीममा भने २३ वर्षमाथिका बढीमा ४ जना खेलाडीले मात्रै सहभागिता जनाउन पाउनेछन्। प्रतियोगिताको विजेतालाई ५० हजार नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने उपविजेतालाई ३५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने बैतडी जिल्ला क्रिकेट संघले जनाएको छ।



