सुदूर नेपाललाई विश्वसँग जोड्दै

विपिन ४३ दिनदेखि हमासको नियन्त्रणमा, बुबा आमाले भेटे परराष्ट्रमन्त्री

२०८० मंसिर २, ०२:०८ खबर संवाददाता

महेन्द्रनगरः कञ्चनपुरका विपिन जोशीका बुबा आमाले छोराको रिहाइका लागि पहल गरिदिन परराष्ट्रमन्त्री एनपी साउँदसँग आग्रह गरेका छन्। मन्त्री साउँदलाई शनिवार महेन्द्रनगरमा भेटेर विपिनका बुबा महानन्द जोशी र आमा पद्मा जोशीले हमास समूहको नियन्त्रणमा रहेका छोराको रिहाइका लागि पहल गर्न आग्रह गरेका हुन्।

विपिन ४३ दिनदेखि विद्रोही समूह हमासको नियन्त्रणमा छन्। “चाँडोभन्दा चाँडो छोराको रिहाइका लागि नेपाल सरकारले पहल गरिदिनु प¥यो”, मन्त्री साउदलाई विपिनका बुबा आमाले भने, “छोराको चिन्ताले हामीलाई दिनरात सताइरहेको छ, जसरी पनि सरकारले सकुशल ल्याइदिनु प¥यो।” भीमदत्त नगरपालिका–३ घर भएका विपिनका बुबा आमाले यसअघि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीमार्फत मन्त्री साउँदलाई ज्ञापनपत्र समेत पठाएका थिए।

भेटघाटका क्रममा मन्त्री साउँदले विपिनको सकुशल रिहाइका लागि नेपाल सरकारले सक्दो पहल गरिरहेको बताए। “कूटनीतिक माध्यमबाट विपिनको सकुशल रिहाइका लागि पहल जारी राखेका छौँ, हामी पनि यो घटनाबाट चिन्तित छौँ”, उनले भने।

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्कायमा अध्ययनरत जोशी ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत गत भदौ २७ गते इजरायल गएका थिए। सुदूरपश्चिम विश्वविद्यालयबाट उनस्सहित ४९ विद्यार्थी त्यहाँ पुगेका हुन। गत असोज २० गते हमास समूहले इजरायलमाथि आक्रमण गर्दा १० नेपाली विद्यार्थीको ज्यान गएको थियो। विपिनलाई भने हमासले कब्जामा लिएको थियो। कब्जामा लिएयता उनको कुनै खबर प्राप्त हुन सकेको छैन। रासस

 

कमेन्ट लोड गर्नुस