दक्षिण एसियाली कराते मंसिर १६ देखि आयोजना गरिने
काठमाडौंः नेपाल कराते महासंघले सातौं दक्षिण एसियाली कराते च्याम्पियनसिप मंसिर १६ देखि आयोजना गर्ने भएको छ। प्रतियोगितामा दक्षिण एसियाका ६ राष्ट्रको सहभागिता रहने शुक्रबार पत्रकार सम्मेलनमा नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाले जानकारी गराए।
नेपालसहित बंगलादेश, भुटान, भारत, पाकिस्तान र श्रीलंकाका खेलाडीले दुईदिने प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । प्रतिबन्धमा रहेकाले श्रीलंकाको भने एनओसी टिम सहभागी हुने जनाइएको राखेपका पूर्वसदस्य–सचिव रहेका लामाले बताए।
क्याडेट, जुनियर, यू–२१ र सिनियरमा गरी ४ विधामा ६२ स्वर्णका लागि प्रतिस्पर्धा गराइने महासंघका महासचिव दावा गुरुङले बताए। क्याडेटमा १२, जुनियरमा १५, यू–२१ मा १६ र सिनियरमा १९ स्पर्धामा खेल हुनेछ । कुल ३ सय ५३ खेलाडीको सहभागिता रहनेछ।
सबै स्पर्धामा गरी नेपालका ६८ खेलाडीले चुनौती प्रस्तुत गर्नेछन्। नेपाली खेलाडीको प्रशिक्षणका लागि ६ प्रशिक्षक र २ व्यवस्थापकको व्यवस्था गरिएको जनाइएको छ। कुमुते टोली गोकर्णेश्वरस्थित शंखडोल कराते एकेडेमी तथा काता टोली बौद्ध डोजामा प्रशिक्षणरत छन्
अध्यक्ष लामाले यस्तो प्रतियोगिता नेपालले २५ वर्षपछि आयोजना गर्न लागेको बताउँदै प्रतियोगिताले करातेको गरिमा बढाउन मदत पुग्ने विश्वास व्यक्त गरे। लामाले प्राविधिक रूमा यो प्रतियोगिता बंगलादेशले आयोजना गर्नुपर्नेमा उसले प्रस्ताव नै नगरेकाले नेपालले प्रस्ताव गर्दा एसियाली कराते महासंघ (एकेएफ) ले स्वीकृति दिएको जानकारी गराए।
एकेएफ र राखेपबाट स्वीकृति पाएको प्रतियोगितालाई विश्व कराते महासंघ (डब्लूकेएफ) र नेपाल ओलम्पिक कमिटीले पनि मान्यता दिएको महासंघले जनाएको छ। त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा हुने प्रतियोगिता सञ्चालन गर्न करिब १ करोड १० लाख रुपैयाँ खर्च हुने जनाइएको छ।