सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको मोहनामा छठ पूजाको तयारी अन्तिम चरणमा

२०८० मंसिर १, ०६:३२ नारायण अवस्थी

धनगढीः धनगढीको मोहना छठी घाटमा छठ पूजाको तयारी लगभग पूरा भएको छ। षष्ठी तिथिमा अस्ताउँदो र सप्तमी तिथिको दिन उदाउँदै गरेको सूर्यको पूजा गरेर मनाइने पर्व छठी धनगढीमा मोहना घाटमा आयोजना हुने गर्छ।

कात्तिक शुक्ल षष्ठी तिथिमा पर्ने छठ पूजामा सूर्यदेव र छठी माताको पूजा आराधना गरिन्छ। धनगढी मोहना छठी घाटमा छठ पूजाको तयारी अन्तिम चरणमा पुगेको आयोजकले बताएको हो। शनिवार अस्ताउँदो र आइतवार उदाउँदो सूर्यदेवको आराधना गरेर मनाइने छठ पूजाको तयारी दशैँ लगत्तै सुरु भएको थियो।

मोहना छठी घाटलाई सजाउने र पूजाका लागि व्यवस्थापन गर्ने काम ९५ प्रतिशत पूरा भएको छठ पूजा समितिका अध्यक्ष सन्तोष मण्डल धानुकले बताए। “मोहना छठी घाटमा पूजाको तयारी दशैं लगत्तैबाट सुरु गरिएको हो। शुक्रवारसम्म ९५ प्रतिशत तयारी सकिएको छ। सजावटको केही काम मात्रै बाँकी छ। त्यो शनिवार बिहान सकिन्छ,” अध्यक्ष मण्डलले भने। छठी पूजाको परम्परा महाभारतकालदेखि सुरु भएको विश्वास गरिन्छ। सूर्य पुत्र कर्णले भगवान् सूर्यलाई हरेक बिहान जलमा उभिएर अर्घ्य दिन्थे भन्ने कुरा महाभारतमा वर्णन गरिएको छ।

यस्तै, भगवान रामको रावणमाथि विजय पश्चात् रामराज्य स्थापनार्थ कात्तिक शुक्ल षष्ठीको दिन सूर्यदेवको आराधना गरेको विश्वास गरिन्छ। पाण्डव पत्नी द्रौपदीले पनि आफ्नो परिवारको उत्तम स्वास्थ्यको कामना र दीर्घायुका लागि नियमित सूर्य देवताको पूजा गरेको विश्वास गरिन्छ। सूर्यदेवताको यहीँ पूजा कालान्तरमा छठ पर्वका रूपमा मनाउन थालिएको मैथिली समुदायमा विश्वास गरिन्छ। छठ पर्व पूर्ण रूपले कृषि उत्पादनसँग सम्बन्धित पर्व हो। यो पर्वमा स्थानीय उत्पादन, सीप र संस्कारको सम्मिश्रण पाइन्छ। स्थानीय समुदायले हातबाट बनाएका बाँसको नाङ्लो, कनसुप्ती, माटोबाट बनाइएका सामग्रीहरू, ढकना, सरबा र दियोजस्ता सामग्रीको प्रयोग छठ पूजामा हुने गरेको छ। धनगढीस्थित मोहना घाटमा छठ पूजा गर्नेको सङ्ख्या हरेक वर्ष बढिरहेको छठपूजा समितिले जनाएको छ।

यो वर्ष एक लाख भन्दा बढी भक्तालुले मोहना घाटमा आएर छठ पूजा गर्ने छठ पूजा समितिका अध्यक्ष मण्डलले बताए। “धनगढीमा छठ पर्व मनाउनेको सङ्ख्या हरेक वर्ष बढ्ने गरेको छ। यो वर्ष मोहना छठी घाटमा करिब एक लाख भक्तजनको सहभागिता रहने अनुमान गरेका छौँ,” मण्डलले भने। छठ पर्वमा उदाउँदो र अस्ताउँदै गरेको सूर्यलाई एउटै आस्था र निष्ठाका साथ पूजा गरिन्छ। हरेक वर्ग, जात र समुदायका मानिस एउटै घाटमा एकसाथ छठ पर्व मनाउने गर्छन्।

 

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस