सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका पाँच वर्षीय बालकको शव चार दिनदेखि अस्पतालमा

२०८० मंसिर १, ०४:३९ खबर संवाददाता

धनगढीः कैलालीका एक पाँच वर्षीय बालकको शव चार दिनदेखि सेती अस्पतालमा छ। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ५ गेटाका सम्राट् ऐरको शव चार दिनदेखि सेती प्रादेशिक अस्पतालको शव गृहमा रहेको हो।

गेटास्थित डिलासैनी क्लिनिकमा उपचारका लागि लगिएका उनको सञ्चालकका भाइले सुई लगाउदा मृत्यु भएको थियो। बालकको मृत्युपछि क्लिनिकका सञ्चालक धनगढी उपमहानगरपालिका–१३ श्रीलंकाका दिनेश धामी र नविन धामीलाई प्रहरीले पक्राउ गरेपनि परिवारका सदस्यहरूले बालकको शव बुझेका छैनन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुल्दिप चन्दका अनुसार परिवारका सदस्यहरूले क्लिनिक सञ्चालक र सुइ लगाउनेलाई कारबाहीका साथै क्षतिपूतिको समेत माग गरेका छन्। परिवारका सदस्यरहरू र क्लिनिक सञ्चालक पक्ष बिचमा बुध र बिहिवार जिल्ला प्रहरी कार्यालय, कैलालीमा छलफल भएको थियो। तर, उनीहरूको बिचमा सहमति भएको छैन।

क्लिनिकका सञ्चालक दिनेशले आफ्नो अनुपस्थितिमा भाई नविनलाई सुई लगाउन अह्राएका थिए। ज्वरो आएपछि उपचारका लागि बुधवार साँझ क्लिनिक लगिएका ऐरको क्लिनिक सञ्चालक दिनेशका भाई नविनले सुई लगाएपछि ऐर अचेत भएका थिए। ऐरलाई धामीले स्कुटरमा राखेर तत्काल माया मेट्रो अस्पताल पुर्‍याएका थिए। अस्पताल  पुर्‍याउनुअघि नै बालकको मृत्यु भईसकेको प्रहरीले बताएको छ। उनीहरू दुबै जनाको विरुद्धमा मुद्‍दा दर्ता भएको छ।

 

कमेन्ट लोड गर्नुस