बीमा कम्पनीले बदमासी गरे धनगढीमै उजुरी गर्न मिल्ने
धनगढीः बीमा कम्पनी र प्रतिनिधिबाट सेवा सुविधा नपाए कानुन उपचारका लागि धनगढीमा उजुरी दर्ता गर्न मिल्ने भएको छ। सुदूरपश्चिमका बिमितहरूले बीमा कम्पनीबाट सेवा सुविधा नपाए धनगढीमा रहेको बीमा प्राधिकरणको कार्यालयमा निवेदन दर्ता गर्न मिल्ने भएको हो।
धनगढीमा स्थापना भएको नेपाल बीमा प्राधिकरणको प्रादेशिक कार्यालयले बीमा सम्बन्धी विवादमा सर्वसाधारणलाई सहजीकरण र सहयोग गर्छ। बीमाका सर्तअनुसार सेवा सुविधा नपाएको अवस्थामा सुदूरपश्चिमका बिमितहरूलाई कानुनी उपचार खोज्न बीमा प्राधिकरणले सहयोग गर्नेछ।
धनगढीमा २०७९ असोज ७ गते नेपाल बीमा प्राधिकरणको प्रादेशिक कार्यालय खुलेको हो। बीमा क्षेत्रको नियमनकारी निकाय बीमा प्राधिकरणले बीमा सम्बन्धी विवादको निरूपण गर्छ। बीमा क्षेत्रमा कार्यरत बीमा कम्पनीहरू र बीमा अभिकर्ताहरूका सम्पूर्ण गतिविधिको नियमन समेत बीमा प्राधिकरणले गर्ने काम नेपाल बीमा प्राधिकरण सुदूरपश्चिम प्रदेश कार्यालयबाट हुने प्रादेशिक कार्यालय प्रमुख हृदयराज पण्डितले बताए। “यो नेपाल बीमा प्राधिकरण भनेको बीमा क्षेत्रको नियमनकारी निकाय हो। बीमा क्षेत्रमा कार्यरत कम्पनीहरू, अभिकर्ताहरू र सम्पूर्ण पक्षहरूले गर्ने गतिविधिहरू हामीले निगरानी राख्दछौँ,” उनले भने, “बीमा क्षेत्रको नियमन र सुपरिवेक्षण गर्ने काम हामीले गर्दछौँ।”
नेपाल बीमा प्राधिकरण बिमितहरूको हकहीतका लागि काम गर्ने अर्ध न्यायिक निकाय हो। बीमा प्राधिकरणको धनगढी कार्यालयले सुदूरपश्चिम प्रदेशमा क्रियाशील बीमा कम्पनीहरूको अवस्था, कारोबारको स्थिति, बजार नियन्त्रण प्रणाली र अभिकर्ताहरूको गतिविधिलाई नियमन र सुपरिवेक्षण गर्दै आएको छ। बीमा कम्पनीहरूको वित्तीय विवरणको नियमनका अतिरिक्त बीमा गराउने सर्वसाधारणलाई पर्न जाने समस्याको समाधान गर्न प्राधिकरणको प्रादेशिक कार्यालय धनगढीबाट आवश्यक काम कारबाही हुने गरेको छ।
बीमा कम्पनीले बिमा लेख बिक्री गर्दा दिन्छु भनेको सेवा सुविधा सर्वसाधारणलाई नदिए सुदूरपश्चिमका बिमितले धनगढी कार्यालयमा उजुरी गर्न सक्ने प्रमुख पण्डितले बताए। “नेपाल बीमा प्राधिकरणले बिमितहरूको हक हितको प्रवर्धन गर्दै आएको छ। यो प्रदेशमा रहेका बीमा कम्पनीहरूको कारोबार लगायत अन्य सबै पक्षको नियमन गर्ने काम यो कार्यालयबाट हुने गरेको छ,” प्रादेशिक कार्यालय प्रमुख पण्डितले बताए। बीमा कम्पनीहरूले बिमितलाई बीमाको सर्तअनुसार सेवा सुविधा दिएन भने नेपाल बीमा प्राधिकरणको धनगढी कार्यालयमा उजुरी दिन मिल्छ। प्राधिकरणले बिमितको हित रक्षा गर्ने प्रमुख जिम्मेवारी अनुसार सुदूरपश्चिमका बिमितलाई पनि कानुनी उपचारबाट न्याय दिलाएको छ। सर्त अनुसारको सुविधा बीमा कम्पनी नदिए बिमितलाई न्यायिक उपचारमा सघाउने प्रादेशिक कार्यालय प्रमुख पण्डितले बताए।
सर्वसाधारणलाई बीमा लेख बिक्री गर्दा अभिकर्ताले बताएका सुविधा बीमा भुक्तानी गर्दा नमिले या नियमानुसार पाउनुपर्ने सुविधा नपाएको अवस्थामा सर्वसाधारणले न्यायका लागि नेपाल बीमा प्राधिकरणमा उजुरी दिन पाउँछन्। बीमा कम्पनी र अभिकर्ताले बिमितलाई सेवा र सुविधाबाट वञ्चित गर्न खोजेमा धनगढीस्थित नेपाल बीमा प्राधिकरणको कार्यालयमा निवेदन दिए पीडितले कानुनी सहायता पाउदै आएका छन्।