सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीका स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी बस्दैनन्, सिटामोलसमेत पाइदैन

फोटो : गोरखापत्र
फोटो : गोरखापत्र
२०८० मंसिर १, १०:२३ खबर संवाददाता

बैतडीः बैतडीका स्वास्थ्य संस्थाहरूमा स्वास्थ्यकर्मीको उपस्थितिसमेत नहुने गरेको पाइएको छ। जिल्लाका पालिकाहरुका स्वास्थ्य संस्थाहरूमा स्वास्थ्य कार्यालयले गरेको अनुगमनमा स्वास्थ्यकर्मी बिदामा बस्ने गरेको पाइएको हो।

जिल्लाको सिगास गाउँपालिका वडा नम्बर १ जुकेपानीस्थित आधारभूत स्वास्थ्य केन्द्र महिनौँदेखि स्वास्थ्यकर्मी विहीन रहेको पाइएको छ। सिगास–१ कै बेसरा गाउँमा रहेको गाउँघर क्लिनिक एक वर्षदेखि बन्द छ। उक्त क्लिनिकमा बाख्रा बस्दै आएका पाइएको छ। स्वास्थ्य कार्यालय प्रमुख योगेशप्रसाद भट्टका अनुसार क्लिनिकमा बाख्राको दिसा रहेको बताए। तर, स्वास्थ्य केन्द्रका इन्चार्ज अहेव नरेन्द्र ऐरीले गाउँघर क्लिनिक सञ्चालित अवस्थामा रहेको दाबी गरे। गाउँघर स्वास्थ्य केन्द्रमा कार्यरत अनमी भने गाउँपालिकाबाट बिदा स्वीकृत नै नगरी महिना दिनदेखि अनुपस्थित रहेको पाइएको छ। सो आधारभूत स्वास्थ्य केन्द्रमा सिटामोल छैन। गाउँघर क्लिनिकको अवस्था झन् दयनीय रहेको स्वास्थ्य कार्यालयको अनुगमन टोलीले जनाएको छ।

स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीले गाउँपालिकाबाट बिदा स्वीकृत नगराएको सिगास गाउँपालिकाका स्वास्थ्य संयोजक घनश्याम बोहराले बताएका छन। गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा औषधी खरिदमा ढिलाइ भएका कारण सिटामोल पुग्न नसकेको उनको तर्क छ। उनले वैकल्पिक व्यवस्था गरेर भए पनि सिटामोल पठाइने तयारी भएको बताए। गाउँघर क्लिनिकका सम्बन्धमा गुनासो आएकाले अबका दिनमा क्लिनिक सञ्चालन भएको तस्बिरसमेत पठाउन निर्देशन दिइएको उनले बताए।

अनुगमनका क्रममा स्थानीय तहका स्वास्थ्य संस्थामा सिटामोल नपाइने अवस्था रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। नेपाल सरकारले गाउँपालिका र नगरपालिकालाई औषधि खरिदका लागि वार्षिक २० लाख रुपियाँ बजेट पठाउने गरेको छ।

पालिकामा बजेट आए पनि सर्वसाधारणले सिटामोलसमेत नपाएको स्थानीय लोकेन्द्र ऐरीले बताए। ज्वरो आएका बिरामीले आधारभूत स्वास्थ्य केन्द्र र गाउँघर क्लिनिकबाट सामान्य औषधि सिटामोलसमेत नपाएको सिगास गाउँपालिका वडा नम्बर १ का जगदीश भट्टको गुनासो छ।

सिगास गाउँपालिका–१ को स्वास्थ्य संस्था र गाउँघर क्लिनिकमा सिटामोल नभएको पाइएपछि स्वास्थ्य कार्यालयले सिटामोल, जीवनजललगायतका औषधि र एक थान स्ट्रेचर उपलब्ध गराएको छ।

 

कमेन्ट लोड गर्नुस