सुदूर नेपाललाई विश्वसँग जोड्दै

टिकटकले भन्यो: प्लेटफर्म बन्दको निर्णय अभिव्यक्ति स्वतन्त्रताविरुद्ध

२०८० मंसिर १, ०५:४७ खबर संवाददाता

काठमाडौँ: सामाजिक सञ्जाल टिकटकले नेपाल सरकारको निर्णयबाट आश्चर्यचकित भएको प्रतिक्रिया दिएको छ। टिकटक प्लेटफर्म बन्द गर्ने सरकारको निर्णय अभिव्यक्ति स्वतन्त्रताको सिद्धान्तहरूको विपरीत भएको पनि कम्पनीको भनाइ छ। 

मन्त्रिपरिषद्को निर्णयअनुसार नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकलाई नचल्ने बनाउने गरी कार्यान्वयनमा लगेसँगै टिकटकले पत्र पठाएर असन्तुष्टि पोखेको हो। ‘हामी दृढतापूर्वक विश्वास गर्छौँ कि, ठोस आधार बिनै  रचनात्मक अभिव्यक्तिको लागि व्यापक रूपमा प्रयोग हुने प्लेटफर्मको अनुचित अवरोध अभिव्यक्ति र अभिव्यक्ति स्वतन्त्रताको सिद्धान्तहरूको विपरीत हो’, टिकटकले नेपाल दूरसञ्चार प्राधिकरणलाई पठाएको पत्रमा भनिएको छ, ‘हामी नेपाल सरकारले उठाएका कुनै पनि सरोकारलाई सम्बोधन गर्न र त्यससँग मिल्दोजुल्दो समाधानतर्फ काम गर्न तयार छौँ।’

टिकटक प्रतिबन्धको सरकारी निर्णयले आफ्नो लगानी योजनामा असर पर्नुका साथै युवा पुस्ताका नेपाली कन्टेन्ट क्रियटरहरूलाई समेत असर गर्ने कम्पनीको भनाइ छ। नेपालका कतिपय युवाले टिकटकमार्फत व्यवसाय सञ्चालन गरेको भन्दै कम्पनीले एकाएक बन्दको निर्णय हुँदा उनीहरूको व्यवसायमै पनि समस्या आउने उल्लेख गरेको छ। प्रयोगकर्ताको सुरक्षा आफ्नो पहिलो प्राथमिकता भएको भन्दै  टिकटकले आफ्नो प्लेटफर्मलाई सुरक्षित र स्वागतयोग्य वातावरण सुनिश्चित गर्न प्रतिबद्ध रहेको पत्रमा उल्लेख गरेको छ । 

कमेन्ट लोड गर्नुस