सुदूर नेपाललाई विश्वसँग जोड्दै

 त्रिनगर प्लान्ट क्वारिन्टिन अझै खुलेन, तीन महिनादेखि व्यवसायी हारगुहार गर्दै

२०८० कार्तिक ३०, ०५:२७ नारायण अवस्थी

धनगढी: धनगढीको त्रिगर भन्सार कार्यालय परिसरमा रहेको प्लान्ट क्वारिन्टिन कार्यालय गड्डाचौकीको टुरमुकाम मोहना कार्यालय तीन महिनादेखि  बन्द छ। त्रिनगरको प्लान्ट क्वारिन्टिन टुर मुकाम कार्याल बन्द हुँदा त्रिनगर-गौरीफन्टा नाकाबाट हुने आयात निर्यातको काम ठप्प छ।

सुदूरपश्चिमका उद्योगी व्यवसायीहरूले भारत तथा तेस्रो मुलुकबाट आयात गरेको अद्यौगिक कच्चा पदार्थ तीन महिनादेखि नेपालगन्ज नाका भएर आयात गर्नु परेको छ। जसका कारण हरेक गाडीमा ८० हजारदेखि एक लाख भाडा महङ्गो पर्न जाँदा औद्योगिक उत्पादनको मूल्य बढ्ने र आम उपभोक्ता समेत मर्कामा पर्ने अवस्था निर्माण भएको व्यवसायीहरूले बताएका छन्।

सुदूरपश्चिमका उद्योगहरूका लागि त्रिनगर भन्सारबाट कच्चा पदार्थ आयात हुने गरेकोमा प्लान क्वारिन्टिन कार्यालय बन्द हुँदा व्यवसाय प्रभावित भएको दाना उद्योगी विक्रमबहादुर सिंहले बताए। 'सुदूरपश्चिममा जति पनि उद्योग छन्, तिनका लागि भारत तथा तेस्रो मुलुकबाट कच्चा पदार्थ आयात गर्ने नाका भनेको त्रिनगर भन्सार नै हो। विगत केही वर्षदेखि प्लान्ट क्वारिन्टिन टुरमुकाम कार्यालय खुलेर आयात-निर्यातमा सहज भएको थियो,' उनले भने, 'साउन २८ गतेदेखि सरकारले टुरमुकाम कार्यालय बन्द गरेपछि अहिले हाम्रो आयतन-निर्यात ठप्प छ। हामीलाई अहिले निकै मर्का परेको छ।'

तीन महिनादेखि यहाँका उद्योगी व्यवसायीहरूले लुम्बिनी प्रदेशको नेपालगन्ज भन्सार भएर कच्चा पदार्थ आयात गर्नुपरेको छ। नेपालगन्जबाट सामान आयात गर्दा भारतीय ट्रान्सपोर्ट कम्पनीहरूले मालसामान ढुवानी गर्न नमान्ने र भाडा महङ्गो पर्ने समस्या छ। सुदूरपश्चिम सामान ल्याउन नेपालगन्जमा गाडीबाट माल झारेर फेरि अर्को गाडीमा लोड गरेर ल्याउनुपर्ने झन्झटिलो र खर्चिलो प्रक्रिया अपनाउनु परेको व्यवसायीले बताएका छन्।

साउन २८ गतेदेखि नै धनगढीका उद्योगी व्यवसायीहरूले बन्द गरिएको प्लान्ट क्वारिन्टिन कार्यालय यथाशीघ्र चलाइनुपर्ने माग राख्दै आएका छन्। कार्यालयबाट सेवा दिन एक जना नायब सुब्बास्तरको प्राविधिक जनशक्ति भए हुन्छ। तर, प्रधानमन्त्री, गृहमन्त्री, पूर्वप्रधानमन्त्री र सुदूरपश्चिमका सबै सांसदहरूसँग हारगुहार माग्दा पनि सुनुवाइ नभएको  व्यवसायी सिंहको गुनासो छ। 'हामीले अहिलेसम्म प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्री, कृषिमन्त्री, प्रमुख सचिव, पूर्वप्रधानमन्त्रीहरूलाई समेत भेटेर प्लान्ट क्वारिन्टिन कार्यालय चल्नुपर्छ भन्ने माग राखिसकेका छौँ,'उनले भने, 'एक जना सुब्बास्तरको प्राविधिक कर्मचारी भए काम सुचारु हुन्छ; तर पनि हाम्रो मागको सुनुवाइ नै हुन्न। हामीले सुदूरपश्चिमका सबै सांसदहरूलाई भेटेर पनि प्लान्ट क्वारिन्टिन कार्यालय खोल्नु पर्ने माग राखेका छौँ। दुई दिनमा हुने काम तीन महिनासम्म भएको छैन।'

त्रिनगरमा रहेको प्लान्ट क्वारिन्टिन कार्यालय बन्द हुँदा धनगढीका उद्योग सञ्चालनमा समस्या भएको छ। भारत भएर आउने कच्चा पदार्थ नेपालगन्ज नाका भएर ल्याउनु पर्दा वस्तुको लागत मूल्य बढ्न गई उपभोक्ता समेत मर्कामा पर्ने अवस्था सिर्जना भएको छ। यहाँका व्यवसायी र कैलाली उद्योग वाणिज्य संघको प्रतिनिधि मण्डलले प्रधानमन्त्रीलाई समेत भेटेर माग राख्दा समेत सरकारले एक जना कर्मचारी समेत काममा खटाउन नसकेको गुनासो गरेका छन्।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस