सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा कम क्षेत्रफलमा पुष्पखेती गर्नेको सबै फूल बिक्री

२०८० कार्तिक २९, ०५:४० नारायण अवस्थी

धनगढीः धनगढीमा कम क्षेत्रफलमा पुष्पखेती गरेका किसानले उत्पादन गरेको सबै फूल बिक्री भएको छ। कम क्षेत्रफलमा पुष्पखेती गरेका किसानको उत्पादित फूल बिक्री भएको हो। तर, १० कट्टा भन्दा बढी क्षेत्रफलमा पुष्पखेती गरेका किसानको भने सबै फूल बिक्री भएको छैन।

धनगढीका लागि फूलको उत्पादन पर्याप्त हुने अवस्था रहेको तर, धनगढीभन्दा बाहिरबाट आएको फूलका कारण समस्या भएको किसानले बताएका छन्। बाहिरबाट पनि फूल आएकाले धनगढीका किसानको सबै फूल बिक्री नभएको किसान प्रतामसिँह विष्टले बताए। दुई कट्ठामा फूल खेती गरेका धनगढी–१२ जुगेडाका विष्टले यो वर्ष ८५० माला तिहारका लागि बनाएकोमा ७ सय माला बिक्री भएको बताएका छन्। उनले एक सय माला भने बिक्री हुन नसकेको बताए। ‘मैले यो वर्ष दुई कट्ठामा फूल खेती गरेको हुँ। तिहारमा मात्रै ८५० माला बनाएकोमा ७ सय माला बिक्री भए; एक सय माला भने बिक्री गर्न सकिएन,’ उनले भने।

धनगढी–३ का प्रकाश अवस्थीले करिब ६ कट्टामा यो वर्ष पुष्पखेती गरेका छन्। उनले पनि तिहारमा फूलेको सबै फूल बिक्री भएको बताएका छन्। उनले अलि ढिलो फूल रोपेकाले सबै फूल तयार नभएको तर, तयार भएको फूल पूरै बिक्री भएको बताएका छन्। ‘मैले अलि ढिलो बिरुवा रोपेको थिएँ। तिहारमा फूलेको सबै फूल बिक्री भएको छ। बिक्री गर्न कुनै समस्या भएन,’ अवस्थीले भने।

धनगढी–१७ धुर्जन्नाकी वसन्ती जोशीको एक कट्टामा उत्पादित सयपत्री फूल गाउँमै बिक्री भएको छ। अन्य किसान जसले थोरै क्षेत्रफलमा फूल खेती गरेका थिए। उनीहरूको सबै फूल तिहारमा बिक्री भएको छ। चार कट्ठामा फूलखेती गरेका मोतिचोकका जोगेन्द्र सेठीको पनि सबै फूल बिक्री भएको छ। बारीमा आएर उपभोक्ताले ताजा फूल खरिद गरेको सेठीले बताए। ‘मैले चार कट्ठामा फूलखेती गरेको थिएँ। बजार क्षेत्रमै खेती गरेकाले सजिलै बिक्री भयो। उपभोक्ताहरूले बारीमै आएर ताजा फूल टिपेर लग्नुभयो,’ सेठीले भने।

धनगढीमा एक बिघा वा त्योभन्दा बढी जग्गामा फूल खेती गर्ने किसानले भने सबै फूल बिक्री हुन नसकेको बताएका छन्। धनगढीमा अन्य जिल्ला र पालिकाबाट फूल आएकाले आफूहरूले लगाएको फूल बिक्री नभएको उनीहरूको तर्क छ। यस्तै, बजारमा फूलको मूल्यमा एकरूपता नहुँदा पनि उत्पादित सबै फूल बिक्री हुन नसकेको हो। धनगढी उपमहानगरपालिकाले प्लास्टिकका मालामा प्रतिबन्ध गरेपछि भने किसानलाई फूलका काला बिक्रीमा सहज भएको थियो।

 

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस