सुदूर नेपाललाई विश्वसँग जोड्दै

टिकटक नहटाए कारबाही गर्ने प्राधिकरणको चेतावनी

२०८० कार्तिक २८, ०७:०३ खबर संवाददाता

काठमाडौंः नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक नहटाए कारबाही गर्ने चेतावनी दिएको छ। सरकारको निर्णय लगत्तै टिकटक हटाउन दिएको निर्देशन पालना नगर्ने इन्टरनेट सेवा प्रदायकलाई कारबाही गर्ने चेतावनी प्राधिकरणले दिएको हो।

मंगलवार सूचना सार्वजनिक गर्दै प्राधिकरणले सोमवारको मन्त्रीपरिषद् बैठकले नेपालमा टिकटक प्रयोगमा तत्काल रोक लगाउने निर्णय गरे लगत्तै इन्टरनेट प्रदायकलाई उक्त निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको थियो।

निर्देशन दिएको २४ घण्टासम्म पनि केही सेवा प्रदायकको नेटवर्कबाट टिकटकमा पहुँच पुगिरहेको र टिकटक प्रयोग भइरहेको भन्दै प्राधिकरणले यस्तो निर्देशन दिएको हो।

प्राधिकरणको सूचनामा भनिएको छ, ‘‘निर्णय कार्यान्वयनको लागि दूरसञ्चार ऐन, २०५३ को दफा १५ ले दिएको अधिकार प्रयोग गरी सम्बन्धित सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई प्राधिकरणबाट निर्देशन दिइसकेकोमा केही सेवा प्रदायकको नेटवर्कबाट टिकटकमा पहुँच पुगिरहेको र टिकटक प्रयोग भइरहेको भन्ने बुझिन आएकोले तत्काल प्राधिकरणको निर्देशन कार्यान्वयन गरी जानकारी गराउन सम्बन्धित सबै सेवा प्रदायकलाई अनुरोध गरिएको छ।’’

सेवा प्रदायकले निर्देशन पालना नगरे दूरसञ्चार ऐन, २०५३ को दफा ४७ बमोजिम कारबाही हुनसक्ने चेतावनीसमेत प्राधिकरणले दिएको छ।

टिकटकका माध्यमबाट सामाजिक सद्भाव एवम् सामाजिक वातावरणमा नकारात्मक असर परिरहेको भन्दै सरकारले नेपालमा बन्द गर्ने निर्णय गरेको हो। योसँगै नेपालसहित २७ देशमा टिकटक प्रतिबन्ध भएको छ।

 

कमेन्ट लोड गर्नुस