सुदूर नेपाललाई विश्वसँग जोड्दै

कर्णालीमा एकै दिन दुई जना सुत्केरीको हेलिकप्टरबाट उद्धार

२०७६ वैशाख १८, ०६:००

कर्णाली प्रदेश सरकारले बुधबार दुई जना सुत्केरी महिलाको उद्धार गरेको छ। हुम्लाको चंखेली गाउँपालिका र अदानचुली गाउँपालिकाबाट सुत्केरी महिलालाई उद्धार गरेको हो। चंखेली गाउँपालिकाको मेल्छम स्वास्थ्य चौकीमा कार्यरत अनमी दाङकी निशा नेपाली र अदानचुली गाउँपालिका–१, की  राजकला महतारालाई सामाजिक विकास मन्त्रालयले  उद्धार गरेको हो। सामाजिक विकास मन्त्री दल रावल आफै हेलिकप्टर लिएर उद्धारका लागि गएका थिए।

महताराको साल निस्किएर बच्चा नजन्मिएपछि र नेपालीको  गर्भपतन गराउँदा अत्याधिक रक्तश्राव भएकोले हेलिकप्टरमार्फत प्रदेश अस्पताल कालागाउँमा उपचारका लागि ल्याएको हो। कर्णाली प्रदेश सरकारले विकट ठाउँका लागि हेलिकप्टरको व्यवस्था गर्दै आएको छ। हालसम्म प्रदेश सरकारले २१ जनाको उद्धार गरिसकेको छ। यसका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि २ करोड रुपैयाँ विनियोजन गरेको छ।

यस चालु आर्थिक वर्षमा एक करोड रुपैयाँ उद्धारमा खर्च गरेको सामाजिक विकास मन्त्री रावलले बताए। साभार - उज्यालाअनलाइन 
 

कमेन्ट लोड गर्नुस