धनगढीका भित्री सडकहरुमा ‘ब्लक’ लगाउने उपमहानगरको नीतिगत निर्णय
धनगढीः लागत साझेदारीमा धनगढीका भित्री सडक निर्माण गर्ने उपमहानगरले योजना बनाएको छ। नगरवासीको मागमा आधारित भित्री सडकहरुमा ब्लक गराउने गरी उपमहानगरपालिकाले नीतिगत निर्णय नै गरेको हो।
मुख्य सडक निर्माण गर्न संघीय र प्रदेश सरकारको सहयोग लिने नीति लिएको उपमहानगरले भित्री सडक निर्माणमा स्थानीयसँग साझेदारी गर्ने नीति अख्तियार गरेको छ। उपमहानगरले १९ वटै वडामा स्थानीयको मागका आधारमा भित्री सडकको निर्माण गर्नेछ। भित्री सडक निर्माण गर्न ५० प्रतिशत उपमहानगरले लगानी गर्नेछ भने बाँकी ५० प्रतिशत लगानी स्थानीय टोल समितिले जुटाउनु पर्नेछ।
यसका लागि उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/८० मै नगर क्षेत्रका भित्री सडक निर्माण गर्न लागत साझेदारी गर्ने नीति पारित गरेको थियो। उपमहानगर क्षेत्रका भित्री सडक निर्माण गर्न गत वर्ष १ करोड बजेट समेत विनियोजन गरिएको थियो। तर कुनै पनि टोल विकास समितिबाट लागत साझेदारी गर्दै सडक निर्माण गर्ने प्रस्ताव नआएको उपमहानगरले जनाएको छ।
उपमहानगरले रणनीति महत्वका सडक निर्माण गर्न संघ र प्रदेश सरकारसँग योजना माग्ने र भित्री सडक नगरवासीसँग साझेदारी गरेर बनाउने नीति लिएको छ। तर, साझेदारी अवधारणकाको लाभ हालसम्म कसैले नलिएको नगर प्रमुख गोपाल हमालले बताए। ‘धनगढीमा लागत साझेदारीमा भित्री सडक निर्माण गर्ने नीति गत वर्ष नै पारित गरिएको हो।
तर, अहिलेसम्म यो सुविधाको लाभ कुनै पनि टोल विकास समितिले लिएका छैनन्,’ उनले भने, ‘लागत साझेदारीमा भित्री सडक निर्माण गर्न गत वर्ष एक करोड बजेट थियो भने यो वर्ष पनि बजेट राखिएको छ।’ लागत साझेदारीमा सडक निर्माण गर्दा स्थानीयको मागको आधारमा सडक कस्तो बनाउने भन्ने निक्र्यौल गरिनेछ। उपमहानगरले बस्तीका भित्री सडकहरू वातावरणमैत्री बनाउने योजना अगाडि सारेको छ।
जसका लागि लागत साझेदारीमा बन्ने सडकहरू निर्माण गर्दा ब्लक ओछ्याइनेछ। ब्लक लगाएर सडक निर्माण गर्दा लागत केही बढी हुने भए पनि वातावरण र सडकको दीगोपनका लागि राम्रो हुने बुझाइ उपमहानगरपालिकाको छ। सडकमा लगाउने ब्लक हाल धनगढीमा पाइने ब्लक जस्तो नभइ त्योभन्दा बलियो हुन्छ। सडकमा लगाउने ब्लक निर्माण गर्ने उद्योग सञ्चालकलाई उपमहानगरपालिकाले बोलाएर एक चरणमा छलफल पनि गरिसकेको छ।
कालोपत्र र आरसिसी ढलानभन्दा ब्लक लगाउँदा लगानी थोरै बढी लाग्ने देखिएको छ। तर पनि उपभोक्ताको चाहना र माग भए ब्लक लगाएर सडक निर्माण गर्न ५० प्रतिशत बजेट उपमहानगरले ब्यहोर्ने र बाँकी ५० प्रतिशत उपभोक्ताले ब्यहोर्न तयार भए धनगढीका भित्री सडकहरू वातावरणमैत्री बन्ने नगर प्रमुख हमालले बताए।
‘उपभोक्ताहरूले साझेदारी गर्न चाहे उहाँहरूले भनेकै जस्तो सडक बनाइने छ,’ उनले भने, ‘उपभोक्ताको माग अनुसार भित्री सडक कालोपत्र, ढलान र ब्लक बिछ्याएर निर्माण गर्न उपमहानगरपालिका तयार छ।’ धनगढी उपमहानरपालिकाले लागत साझेदारीमा सडक निर्माण गर्न चाहने टोल विकास समितिले निवेदन दिन सक्ने व्यवस्था गरेको छ। लागत साझेदारीमा बन्ने सडकहरू उपभोक्ताले माग गरेअनुसार कालोपत्र, आरसिसी ढलान र ब्लक बिछ्याएर निर्माण गरिने छन्।