सुदूर नेपाललाई विश्वसँग जोड्दै

चाडपर्वलाई लक्षित गरेर कैलालीमा एक हजार पाँच सय सुरक्षाकर्मी परिचालन

२०८० कार्तिक २६, ०६:१७ नारायण अवस्थी

धनगढीः चाडपर्वलाई लक्षित गरेर कैलालीमा एक हजार पाँच सय प्रहरी परिचालन गरिएको छ।

दशैंबाट सुरु भएको चाडपर्व लक्षित सुरक्षा योजना छठ पर्वसम्म लागु रहनेछ। तिहार र छठमा जिल्लाको शान्ति सुरक्षा कायम राख्न नेपाल प्रहरीले थप ९९ स्थानमा प्रहरी ड्युटी खटाएको छ। त्यस्तै, राजमार्गमा १३ ठाउँमा अतिरिक्त राजमार्ग सुरक्षा चेकजाँच राखेको जिल्ला प्रहरी कार्याल्य कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले बताए।

‘कैलाली जिल्लामा नियमित ड्युटीका अतिरिक्त थप ९९ स्थान र १३ स्थानमा राजमार्ग सुरक्षापोष्ट राखिएको छ’, उनले भने, ‘दशैंदेखि तिहार र छठसम्म नै सुरक्षाका लागि मोबाइल गस्ती र मोटरसाइकल गस्ती पनि बढाइएको छ।’ तिहार र छठमा प्रहरीको नियमित गस्तीको संख्या पनि थप गरिएको छ।

राजमार्ग र बढी भिडभाड हुनेदेखि भित्री बस्तीमा पनि प्रहरीको निगरानी रहनेछ। कैलालीमा एक हजार पाँच सय बढी प्रहरी जनशक्ति तिहार र छठमा सुरक्षा प्रदान गर्न फिल्डमा खटाइएको प्रहरी नायब उपरीक्षक चन्दले बताए। ‘चाडपर्वलाई लक्षित गरेर कैलालीमा एक हजार पाँच सय सुरक्षाकर्मी परिचालन गरिएको छ।

तिहार र छठ पर्वलाई लक्षित गरेर कैलालीको सुरक्षा व्यवस्था थप बलियो बनाइएको हो। तिहार र छठमा अन्य समयको भन्दा बढी स्थान र संख्यामा प्रहरीको सुरक्षा पोष्ट र गस्ती खटाइएको छ’, चन्दले भने। तिहार र छठ पर्वको समयमा घरमा हुन सक्ने चोरीका घटना नहुन भनेर पनि टोलहरूमा प्रहरी गस्ती परिचालन हुनेछ।

यसका साथै घरमा कोही नभएको अवस्थामा छिमेकमा जानकारी गराएर जान र सम्भावित चोरी हुनबाट बच्न प्रहरीले सर्वसाधारणलाई अपिल समेत गरेको छ। नेपाल प्रहरीले नागरिकको जनधनको सुरक्षाका अतिरिक्त जुवातास नियन्त्रणका लागि पनि निगरानी रहने बताएको छ। जुवातास खेल्ने र खेलाउने स्थानको पत्ता लगाउन सादा पोसाकका प्रहरी नै परिचालन गरिएको छ।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस