सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका अधिकांश मिठाई पसलबाटै अखाद्य वस्तुको खुलेआम विक्रीवितरण

२०८० कार्तिक २६, १०:०८ नारायण अवस्थी

धनगढीः उपभोग्य वस्तुहरू उपभोग गर्न पाउनु आम नागरिकको नैसर्गिक अधिकार हो।

हरेक नागरिकले सहज र सरल तरिकाले उपभोग्य वस्तुहरू उपभोग गर्न पाउनुपर्छ। तर धनगढीका अधिकांश डेरी तथा मिठाई पसलबाटै अखाद्य वस्तुको खुलेआम विक्रीवितरण हुने गरेको पाइएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, धनगढीले २३ गते गरेको अनुगमनका क्रममा धनगढी बजार क्षेत्रका विभिन्न ६ वटा डेरीबाट ठूलो परिणाममाा अखाद्य मिठाई बरामद गरेर नष्ट गरेको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले धनगढी उपमहानगरपालिका–४ बसपार्क अगाडिरहेको महावीर स्वीट्स एण्ड डेरीबाट सबैभन्दा बढी हानिकारक रङ हालेर पकाएको २० किलोग्राम लड्डु बरामद गरेको छ। उक्त लड्डु अनुगमन टोलीले नष्ट गरेको हो। यस्तै, धनगढी–४ कै जोशी डेरीबाट रङ हालेर पकाइएको खाद्य पदार्थ लड्डु १ किलोग्राम बरामद भएको छ भने वडा नम्बर ४ मै रहेको श्रीराम डेरीबाट रङ हालेर पकाएको ८ किलोग्राम लड्डु र ८ सय ग्राम जेरी बरामद गरेर नष्ट गरिएको हो।

चाडपर्व लक्षित बजार अनुगमनको क्रममा वडा नम्बर ४ को आँगन बेक्स एण्ड केकबाट कालो रङले लेखिएको, व्याटर हालेर ओवनमा बेकिङ्ग गरी पकाएको १ दशमलव २५ किलोग्राम केक बरामद गरी नष्ट गरिएको छ। त्यस्तै धनगढी चौराहामा रहेको विष्ट स्वीट्स हाउसबाट रङ हालेर पकाएको २ किलोग्राम लड्डु, धनगढी–३ मा रहेको अष्ट विनायक स्वीट्स हाउस रङ हालेर पकाएको ६ किलोग्राम लड्डु बरामद गरिएको छ।

उपभोग्य मिति समाप्त भएको र निषेधित खाद्य पदार्थ बिक्री वितरण गरिएकाले बरामद गरिएको खाद्य पदार्थ नष्ट गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, धनगढीका सूचना अधिकारी हरिसिंह बोहराले बताए। चालु आर्थिक वर्षको साउनदेखि कात्तिक २३ गतेसम्म खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, धनगढीले १४८ पटक खाद्य बजार, एक सय पटक होटेल रेष्टुरेन्ट, ४९ वटा खाद्य तथा दाना उद्योग र चार वटा अन्य व्यापारिक फर्मको अनुगमन गरेको छ।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस