सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा कैलालीपुल–हुलाकी सडक निर्माणको काम ११ प्रतिशत पूरा

२०८० कार्तिक २५, ११:४९ कमल सावद

धनगढीः सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको पूर्वाधार विकास कार्यालय कैलाली र केएस कन्स्ट्रक्सन बिच २०८० वैशाख २७ गते धनगढीको मुख्य सडक निर्माणका लागि सम्झौता भयो।

सम्झौता भएको ६ महिनामा निर्माण कम्पनीले नाली निर्माणको आधा काम पूरा गरेको छ। चार हजार ६ सय मिटर नाली निर्माण गर्नुपर्नेमा २ हजार ६ सय मिटर नाली निर्माणको काम सकिएको छ। पूर्वाधार विकास कार्यालय, कैलालीका प्रवक्ता ओमप्रकाश जोशीले कैलालीपुलदेखि हुलाकी सडकसम्मको मुख्य सडकको ११ प्रतिशत काम सकिएको बताए।

उनले भने, ‘मुख्य सडकको ११ प्रतिशत भौतिक प्रगति छ। यहि आर्थिक वर्षमा सम्झौता भएको हो। दुई वर्षमा पूरा गर्नुपर्ने हो।’ कैलाली पुलदेखि क्याम्पस रोड, हुलाकी राजमार्गसम्म कालोपत्र सडक निर्माणका लागि ११ प्रतिशत काम पूरा भएको छ। २४ महिनाभित्र सडक निर्माणको काम पूरा गर्ने गरी तीव्र गतिमा काम भइरहेको छ।

निर्माण कम्पनीले २०८२ वैशाख २६ गतेभित्र धनगढीको मुख्य सडक स्तरीय रुपमा निर्माण गर्दै प्रदेश सरकारलाई हस्तान्तरण गर्नुपर्ने छ। पूर्वाधार कार्यालय कैलालीको ५१ करोड ६९ लाखमा केएस कन्स्ट्रक्सनले चार लेनको सडक निर्माण गर्दै छ। २८ मिटर भित्रमा दुई मिटर नाली, ७/७ मिटरको कालोपत्र सडक, डिभाइडरसहित स्मार्ट लाइटसमेत जडान गर्नुपर्ने छ।

निर्माण कम्पनीले अहिले नाली निर्माणको काम गर्दैछ। नालीसँगै विद्युतका पोल स्तान्तरणको कामसमेत जारी छ। पूर्वाधार विकास कार्यालय, कैलालीका प्रवक्ता ओमप्रकाश जोशीले चार लेनको सडक निर्माणको काम तिब्र रुपमा भइरहेको बताए। धनगढी उपमहानगरपालिकाले मुख्य सडक चौडाईका लागि १५ मिटर दाँया र १५ मिटर बायाँका भौतिक संरचना खाली गरेको थियो।

उपमहानगरपालिकाको आग्रहमा दुई दशमलव तीन सय मिटर क्षेत्रभित्र रहेका चार सय २८ भौतिक संरचना खाली गरिएको थियो। धनगढीको मुख्य सडक निर्माणको ११ प्रतिशत काम पूरा भएको छ। भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको पूर्वाधार विकास कार्यालय कैलालीले गत बैशाख २७ गते सडक निर्माणको लागि ठेक्का सम्झौता गरेकोमा नाली निर्माणको काम आधा सकिएको छ।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस