कोरियाली लगानीकर्तालाई नेपालमा थप पुँजी परिचालन गर्न बोर्डको आग्रह
काठमाडौँ: लगानी बोर्ड नेपालको कार्यालय र नेपालस्थित गणतन्त्र कोरियाली राजदूतावासको सहकार्यमा काठमाडौँमा नेपाल—कोरिया लगानी कार्यशाला आयोजना गरिएको छ।
कोरिया इन्टरनेसनल ट्रेड एसोसिएसनका कार्यकारी उपाध्यक्ष मार्न—कि जेओङ्को नेतृत्वमा नेपाल आएको प्रतिनिधिमण्डलको सहभागितामा उक्त सेमिनार आयोजना गरिएको थियो।सेमिनारलाई अप्रत्यक्षरुपमा सम्बोधन गर्दै दक्षिण कोरिया सरकारका व्यापार, उद्योग तथा ऊर्जा मन्त्रालयका मन्त्री, डुक्जेन अहनले नेपाल र दक्षिण कोरियाबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वर्षमा प्रवेश गर्न लागेको सन्दर्भमा दुई देशबीचको सहयोगात्मक सम्बन्धलाई प्रगाढ बनाउन द्विपक्षीय व्यापार तथा लगानी विस्तार अपरिहार्य भएको उल्लेख गरे।
कार्यशालामा उपस्थित दक्षिण कोरियाली प्रतिनिमिण्डल, सरकारी अधिकारीहरू तथा निजी क्षेत्रका प्रतिनिधि तथा नेपालमा लगानी गरिरहेका कोरियाली कम्पनीका प्रतिनिधिलाई सम्बोधन गर्दै लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले कोरियाली इलेक्ट्रोनिक्स कम्पनीहरूले नेपालमै ‘एसेम्ब्ली लाइन’ विस्तार गर्नु प्रशंशनीय रहेको उल्लेख गरे। उनले लगानी बढाउन पनि आग्रह गरे।
लगानी बोर्डले सहजीकरण गरिरहेको २१६ मेगावाटको अपर त्रिशुली–१ जलविद्युत परियोजनालाई तीव्र गतिमा अघि बढाउन आवश्यक समन्वय गरिरहेको उनले बताए। लगानी बोर्ड नेपालको कार्यालय, सामसङको नेपालस्थित कार्यालय, माथिल्लो त्रिशुली–१ को विकासकर्ता एनडब्लुइडीसी तथा कोरिया एक्जिम बैंकका तर्फबाट इकोनोमिक डेभलपमेन्ट कोअपरेसन फन्ड (इडीसीएफ)का सम्बन्धमा जानकारी दिइएको थियो।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी गरिरहेका कोरियाली कम्पनीहरूको अनुभव उत्साहजनक रहेको बताए। कोरिया इन्टरनेशनल ट्रेड एसोसिएसनका कार्यकारी उपाध्यक्ष मार्न–कि जेओङले नेपालमा लगानीका सम्भावना पहिचान गर्न र लगानी परियोजनाबारे छलफल गर्न दक्षिण कोरियाली प्रतिनिधिमण्डलको भ्रमण फलदायी हुने विश्वास व्यक्त गरे।