सुदूर नेपाललाई विश्वसँग जोड्दै

'राष्ट्र बैंकको गलत नीतिले बैंकहरूको मनोमानी बढ्यो'

२०८० कार्तिक २३, ०६:४९ नारायण अवस्थी

धनगढीः नेपाल राष्ट्र बैंक र वाणिज्य बैंकका कारण धनगढीका व्यवसायीले मर्कामा परेको गुनासो गरेका छन्। बैंकको चर्को व्याजका कारण व्यवसाय डुबेको व्यवसायीले बताएका छन्। नेपाल राष्ट्र बैंकको गलत नीति र वाणिज्य बैंकहरूको ज्यादतीले हरेक व्यवसायी पीडित भएको व्यवसायी प्रमोद पाठकले बताए। 'राष्ट्र बैंकले गलत काम गर्दैछ। केही ठूला व्यापारी बैंकरहरूसँगको आर्थिक लेनदेनका कारणले गर्दा राष्ट्र बैँकले बैंकहरूलाई जनता लुट्न छुट दिएको छ,' उनले भने, 'नत्र भने राष्ट्र बैंकको दायित्व, राष्ट्र बैँकले किन निभाएन?'

धनगढीका व्यवसायीहरूले बैंक तथा वित्तीय संस्थाको व्याजदर ढाड सेक्ने हिसाबले बढ्दा धराशायी भएको बताएका छन्। बैंकहरूले पुरानो ऋणको व्याज बढाउँदै लग्ने र नयाँ लगानी नगर्ने नीतिले व्यवसायी समस्यामा परेका व्यवसायी श्याम हमालले बताए। 'जनाता त मरिरहेका छन् नि; अर्थतन्त्र त चौपट भइराछ। सारा सटहरू बन्द भइरहेका छन्; यो कुरालाई सम्बोधन गर्न सकिरहेको छैन,' उनले भने, 'अहिले कुनै व्यवसायी ऋण लिन गयो भने राष्ट्र बैंकको नियम देखाएर बैंकहरूले ऋण दिइरहेको छैनन्। त्यो बेला कसरी ऋण दियो त?'

बैंकहरूले विगतमा ७/८ प्रतिशतमा लगानी गरेको ऋणको व्याजदर बढाएर १६/१७ प्रतिशतसम्म पुगाएका छन्। बैँकले व्याज र सावा तिर्न नसकेको भन्दै व्यवसायीको धितो आफैले सकार्न थालेका छन्। ऋण लगानी गर्दा गरेको सम्पत्तिको मूल्याङ्कनभन्दा निकै कम मूल्यमा बैंकहरूले व्यवसायीको धितो सकार्न थालेका छन्। बैंकहरूले लगानी गर्दा गरेको धितोको मूल्याङ्कन धितो लिलामी गर्दा आधाले घटाएर आफ्नै नाममा घरजग्गा पास गर्न थालेका छन्। बैंकहरूका विरुद्ध फेरि आन्दोलन गर्नुपर्ने अवस्था स्वयम् बैंकहरूले नै गरेको कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले बताए। 'अहिले व्यवसायीहरू मर्माहत भएका छन्। थुप्रै व्यवसायी बैंकको व्याजदरका कारण प्रताडित भएका छन्,' उनले भने, 'बैंकको व्याजदर अत्यधिक भो भन्ने हाम्रो बुझाइ हो। हामीले व्याज तिर्दैनौँ भनेका छैनौँ। हामीले समय मागेका हौँ; व्याजदर घटाउनु पर्‍यो भनेर आन्दोलन गर्नुपर्ने अवस्था आएको छ।'

राष्ट्र बैंकको नीतिका कारण वाणिज्य बैंकहरूले ज्यादती गरेको व्यवसायीले ठहर गरेका छन्। व्यवसायीलाई सहज हुने किसिमले राष्ट्र बैंकले वित्तीय नीतिमा अविलम्ब सुधार गर्नुपर्ने व्यवसायीले आग्रह गरेका छन्।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस