सुदूर नेपाललाई विश्वसँग जोड्दै

शुक्लाफाँटाले गर्‍यो रासायनिक मलको कोटा निर्धारण

२०८० कार्तिक २३, ०६:०१ खबर संवाददाता

कञ्चनपुरः किसानलाई रासायनिक मल वितरणमा सहयोग पुग्ने गरी शुक्लाफाँटा नगरपालिकाले कोटा निर्धारण गरेको छ।

सहकारीमार्फत किसानलाई रासायनिक मल उपलब्ध गराउन कोटा निर्धारण गरिएको हो। कृषि सामग्री कम्पनी लिमिटेड कञ्चनपुरले नगरपालिकालाई रासायनिक मल डिएसपीको एक हजार छ सय ७७ बोरा (आठ हजार तीन सय ८१ मेट्रिक टन) कोटा छुट्याएको छ।

नगरपालिकामा दर्ता भई रासायनिक मलको कारोबार गर्ने सहकारीलाई व्यवस्थित तरिकाले किसानसम्म मल पु¥याउनका लागि कोटा निर्धारण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले बताए। नगरपालिकामा दर्ता भएका २२ वटा सहकारीले रासायनिक मलको कारोबार गर्दै आएका छन्।

'सहकारीमा आबद्ध सदस्य र किसानको सङ्ख्यालाई ध्यानमा राख्दै कोटा निर्धारण गरेका छौँ', कृषि विकास शाखाका प्रमुख करनसिंह बुढाऐरले भने, 'थोरै सदस्य भएका सहकारीलाई थोरै कोटा निर्धारण गरिएको छ।'

सहकारीलाई कम्तीमा एक सय २५ देखि अधिकतम एक सय ५४ बोरासम्म पाउने गरी कोटा निर्धारण गरिएको उनको भनाइ छ। नगरपालिकाले सहकारीलाई कोटा निर्धारण गरी मल वितरण गर्दै आए पनि केही सहकारीमा सञ्चालकमा आबद्ध सदस्यलाई मात्रै रासायनिक मल उपलब्ध गराउँदा सहकारीमा आबद्ध नभएका किसानले मल नपाउने गरेको गुनासोसमेत रहेको छ।

नगरपालिका क्षेत्रमा कोटा निर्धारण गरिएभन्दा बढी रासायनिक मल डिएसपीको खपत हुने गरेको छ। झन्डै नगरपालिका क्षेत्रका किसानले प्रतिवर्ष रासायनिक मल डिएसपीको १३ हजार मेट्रिक टनको माग गर्दै आएका छन्। कोटाको थोरैमात्रै मल आउँदा चर्को मूल्य तिर्दै किसानले भारतीय गुणस्तरहीन मलको प्रयोग गर्न बाध्य छन्। रासस

कमेन्ट लोड गर्नुस