धनगढीमा यात्रु शाखाबाट हुने भन्सारको काम बन्द, ‘क्यारिङ’ गर्नेबाट व्यवसायी हैरान
धनगढीः सुदूरपश्चिमका व्यवसायीले भन्सार बिन्दुमा क्यारिङ गर्नेहरूलाई सामान ल्याउन नदिन कडाइ गरिनुपर्ने माग राखेका छन्। सीमावर्ती बजार क्षेत्रबाट सामान ओसारपसार गर्नेहरूका कारण आफ्नो व्यवसाय धरापमा परेको भन्दै साइकल, मोटरसाइकल र रिक्सामा सामान ल्याउन नदिन आग्रह गरेका हुन्।
सामान ओसारपसार गर्नेहरूले भन्सारको यात्रु शाखामा रसिद काटेर ठूलो परिमाणमा सामान ल्याउने गरेका छन्। यसले वैधानिक तरिकाले भन्सार तिरेर सामान आयात गर्ने व्यवसायीहरू मर्कामा परेको कैलाली उद्योग वाणिज्य संघका महासचिव ओमबहादुर विष्टले बताए। ‘धनगढी स्थित त्रिनगरमा रहेको कैलाली भन्सार हुँदै ठूलो परिमाणको मालसामान भारतको सीमावर्ती बजारबाट आयात हुने गरेको छ।
सामान ओसारपसार गर्नेहरूले दिनहुँ विभिन्न माल सामान नेपाल भित्र्याउँदा वैधानिक तरिकाले आयात गर्दै आएका व्यवसायी मर्कामा परेका छन्’, उनले भने, ‘राज्यको कर तिर्ने निकायमा दर्ता भएर सबै किसिमको कर तिर्ने व्यवसायीले आयात गरेको सामानको तुलनामा क्यारिङ गरेर ल्याएकाहरूले सामान सस्तोमा बिक्री गर्दा कर तिर्ने व्यवसायीको व्यवसाय धरापमा परेको छ।’
सरकारले भारतबाट एक सय रुपैयाँभन्दा बढीको सामान ल्याउँदा अनिवार्य भन्सार गर्नुपर्ने नियम बनाएको छ। यात्रुलाई भने सहजीकरण गर्न यात्रु शाखाबाट भन्सार सम्बन्धी काम गर्ने व्यवस्था छ। तर, क्यारिङवालाहरूले पनि यात्रु शाखाबाटै भन्सार सम्बन्धी काम गराउदै आएका छन्। नेपाल सरकारले भन्सार विन्दुमा रहेको यात्रु शाखाबाट नियमित भन्सारको काम नगर्न भन्सार कार्यालयहरूलाई गत वर्ष नै निर्देशन दिइसकेको छ।
कैलाली भन्सार कार्यालयले यात्रु शाखाबाट भन्सार लिने काम चैत १ गतेदेखि नै बन्द गरेको भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काले बताए। ‘गत चैत १ गतेबाट नै भन्सार कार्यालयको यात्रु शाखाबाट भन्सार सम्बन्धि काम गर्न बन्द गरिएको छ’, उनले भने, ‘यात्रु शाखा यात्रुहरूको सहजीकरणका लागि मात्रै हो। भन्सार सम्बन्धि काम मुख्य कार्यालयबाट गर्नुपर्ने हुन्छ।’ यात्रु शाखाबाट परम्परागत रुपमा सामान क्यारिङ गर्नेहरूले भन्सार गराउन नमिल्ने भएको छ।
भारत तथा तेस्रो मुलुकबाट सामान ल्याउदा अनिवार्य सरकारका सम्बन्धित निकायमा फर्म दर्ता हुनुपर्ने प्रावधान छ। आयात निर्यातको काम गर्ने व्यक्तिले व्यावसायिक फर्म दर्ता गर्ने, आयात–निर्यातको अनुमति लिनुपर्ने र भ्याटमा दर्ता भएर आउनुपर्ने अन्यथा परम्परागत रुपमा भारतबाट सामान ल्याउन नमिल्ने भन्सार कार्यालयका सूचना अधिकारी खड्काले बताए।
बिगतमा साइकलमा सामान बोक्नेहरूले नयाँ नियम लागु भएपछि सोझै भारतबाट सामान ल्याउन नपाउने भएका हुन्। भारतबाट सामान ल्याउन चाहने व्यक्तिले सरकारी निकायमा दर्ता भएर आयात निर्यातको काम गर्न सक्ने तर सोझै सामान क्यारिङ गर्न नपाइने र गरेको पाइए सामान जफत हुने सरकारले नियम बनाएको छ।
.gif)


