हानिकारक ‘एन्टिबायोटिक’, कुखुरापालक किसान जथाभावी प्रयोग बढाउँदै
धनगढीः सुदूरपश्चिममा कुखुरा पालन गर्ने किसानले एन्टिबायोटिकको आफूखुसी प्रयोग गरिरहेका छन्। खोरमा चल्ला हालेको दिनदेखि बिक्री गर्ने दिनसम्म किसानहरूले कुखुरालाई एन्टिबायोटिक खुवाउने गलत अभ्यास गर्ने गरेका छन्।
चल्ला र कुखुरा बिरामी भए त्यसको उपचारका लागि पशु प्राविधिक र चिकित्सकको सल्लाह अनुसार एन्टिबायोटिकको प्रयोग हुनुपर्नेमा किसानले कुखुरा बिरामी नहुन भनेर नियमित एन्टिबायोटिक दिने गरेका छन्। कुखुरामा एन्टिबायोटिकको जथाभावी प्रयोगले जीवाणु अर्थात् ब्याक्टेरियामा प्रतिजैविक प्रतिरोध क्षमता विकास भइरहेको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीका प्रमुख वरिष्ठ पशु चिकित्सक नरेशप्रसाद जोशीले बताए।
‘एन्टिबायोटिकहरू जिवाणुलाई मार्नमा प्रयोग हुनुपर्नेमा यहाँ एकदेखि चल्ला खरिद गरेदेखि नै एन्टिबायोटिक प्रयोग गर्ने गलत अभ्यास छ’, उनले भने, ‘किसानहरूले यस्तो गलत अभ्यास गर्दा जिवाणुहरूमा प्रतिजैविक प्रतिरोध क्षमताको विकास भइरहेको छ। यो जनस्वास्थ्य र पशुपालन क्षेत्रका लागि ठूलो चुनौतीको रुपमा आएको छ।’
पशु प्राविधिक र चिकित्सकको सल्लाह बिना सुदूरपश्चिमका किसानहरूले कुखुरामा सबैखाले एन्टिबायोटिक प्रयोग गर्ने गरेका छन्। कुखुरा बिरामी हुँदा र बिरामीको कारण मरेर प्रयोगशालामा परीक्षण गर्दा किसानहरूले सामान्यदेखि शक्तिशाली एन्टिबायोटिकको प्रयोग गरेको तथ्य फेल पर्ने गरेको छ। जसका कारण पशु चिकित्सकहरूलाई औषधी सिफारिस गर्न समेत समस्या हुने गरेको डाक्टर जोशी बताए।
‘किसानहरूले नयाँनयाँ एन्टिबायोटिक समेत कुखुराहरूलाई खुवाएका हुन्छन्। कुखुरा बिरामी भएर तथा मरेर प्रयोगशालामा ल्याउँछन्। यहाँ परीक्षण गर्दा थुप्रै किसिमका एन्टिबायोटिक खुवाएको थाहा हुन्छ। हामीलाई औषधी लेख्न समेत समस्या हुन्छ’, वरिष्ठ पशु चिकित्सक जोशीले भने।
अहिले विश्वव्यापी रुपमा प्रतिजैविक प्रतिरोध क्षमता अर्थात् एन्टिमाइक्रोबियल रेसिस्टेन्टको जोखिम बढेको छ। किसानहरूले कुखुरा बाख्रा र अन्य पशु र पन्छीमा रोग नलागोस् र तौल बढोस् भनेर पनि एन्टिबायोटिक खुवाउने गलत अभ्यास छ। कुखुरा बिक्री गर्ने समयमा पनि एन्टिबायोटिक खुवाउने गलत अभ्यास किसानले गर्दा कुखुरालाई दिइएको एन्टिबायोटिक मासुको माध्यमबाट मानिसको शरीरमा पुग्छ।
एन्टिबायोटिक रेसिड्यु भएको मासु सेवन गर्दा मानिसको शरीरमा रहेका जीवाणुमा पनि एन्टिमाइक्रोवियल रेसिस्टेन्ट अर्थात् प्रतिजैविक प्रतिरोध क्षमताको विकास हुन्छ। जसले गर्दा मानिस बिरामी भयो भने कुनै पनि एन्टिबायोटिकले काम गर्न नसक्ने अवस्था सिर्जना हुने वरिष्ठ पशु चिकित्सक जोशीले बताए।
‘एन्टिबायोटिकको अवशेष भएको मासु हामीले सेवन गरौँ भने हाम्रो शरीरमा भएका ब्याक्टेरियाहरूले पनि एन्टिब्याक्टोरियल रेसिस्टेन्ट विकास गर्ने भए, ती ब्याक्टेरिया थप हुँदाहुँदै मानव स्वास्थ्यमा असर पर्ने हुन्छ भने त्यसको असर वातावरणमा पनि पर्छ’, पशु चिकित्सक जोशीले भने।
मानव तथा पशुपन्छीमा जथाभावी एन्टिबायोटिकको प्रयोगले व्याक्टेरिया झनै शक्तिशाली हुने गर्छ। प्रतिजैविक प्रतिरोधी क्षमता आर्जन गरेका शक्तिशाली व्याक्टेरिया अर्थात् जीवाणु नष्ट गर्न हाल आविष्कार गरिएका एन्टिबायोटिकले गर्न सक्दैनन्। जसको नकारात्मक असर मानव स्वास्थ्यमा मात्रै नपरेर पशुपन्छी, कृषि उत्पादन र पर्यावरणमा समेत पर्ने जोखिम हुन्छ।