सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमको बाल सुधार गृह जबरजस्ती करणी कसुरका बालबन्दीले भरियो

२०८० कार्तिक २०, ११:३५ खबर संवाददाता

धनगढीः बझाङको बुंगल नगरपालिका–१ मा १२ वर्षीया बालिका बलात्कृत भइन्। गत जेठमा भएको घटनाबारे प्रहरीले अनुसन्धान ग¥यो। घटनामा संलग्न रहेको अभियोगमा तीनजनालाई पक्राउ ग¥यो। पक्राउ पर्ने तीनैजना १४, १५ र १६ वर्षका थिए। सामूहिक बलात्कार कसुर लागेका उनीहरूलाई अहिले पुर्पक्षका लागि डोटीस्थित बाल सुधारगृहमा राखिएको छ।

त्यस्तै गत १७ फागुनमा कैलालीको धनगढी उपमहानगरपालिका–१० जुगेडामा १३ वर्षीया बालिका बलात्कृत भइन्। प्रहरीले अनुसन्धानपछि घटनामा संलग्न रहेको अभियोगमा १६ र १७ वर्षीय बालकलाई पक्राउ ग¥यो। सामूहिक बलात्कारको अभियोग लागेका दुवैजनालाई बाँकेको नेपालगन्जस्थि बाल सुधारगृहमा राखिएको छ। डोटी सुधार गृहमा मात्र ४८ बालबन्दी छन्। ती मध्ये ३१ जना जना जबरजस्ती करणी मुद्दाका बालबन्दी हुन्।

त्यस्तै १५ जना बालक कर्तव्य ज्यान, एक जना डाँका चोरी र एक जना अप्राकृतिक मैथुन गरेर ४८ जना बालबन्दी छन्। सुधार गृहमा अहिले १४ देखि २३ वर्ष उमेर समुहका विभिन्न अपराधमा संलग्न अभियुक्तहरु बाल सुधार गृहमा रहेको बाल सुधार गृह डोटीकी प्रमुख प्रशासकीय अधिकृत सानुमाया लिम्बुले बताइन्।

जबरजस्ती करणीमा सबैभन्दा धेरै पीडित १८ वर्षमुनिका बालिका छन्। साथै बालकहरूसमेत संलग्न रहेको तथ्यांक डरलाग्दो छ। अधिकांश पीडित पनि १८ वर्षमुनिकै छन्। जबरजस्ती करणीमा बालकहरूको बढ्दो संलग्नताले सामाजिक त्रास बढाएको छ। यस्तो कसुरमा बाल सुधारगृहमा ल्याइने बालकको संख्या बढ्दो दरमा रहेकोसमेत प्रशासकीय अधिकृत लिम्बुले बताइन्।

अपराध नियन्त्रणका दुई विधि छन्, एउटा दण्डात्मक र अर्को सुधारात्मक। दण्डात्मक विधिले कानुन, कारागार र प्रहरीको परिकल्पना गर्छ। जसको प्रयोग अपराध भएपछि मात्रै आउने गर्छ। तर, सुधारात्मक विधिको उद्देश्य अपराध नै हुन नदिनु हो। अर्थात् रोग लागेपछि उपचार गर्नुभन्दा रोग नै लाग्न नदिनु सुधारात्मक विधिको उद्देश्य हो। जबरजस्ती करणी नियन्त्रणमा संसारभर मुख्यतया दण्डात्मक विधि नै अभ्यासमा रहेको देखिन्छ।

तर, अपराध नियन्त्रणमा आउनुको सट्टा झन् मौलाउँदै गएको देखिन्छ। तथ्यांकअनुसार जबरजस्ती करणीजन्य मनोभाव विद्यालय र समाजको तल्लो तहबाट सुरु हुन्छ। जसले सिंगो समाजलाई संक्रमित तुल्याउँछ। यसलाई रोक्न विद्यालय तह र क्याम्पस दुवै तहका पाठ्यसामग्रीमा यौनशिक्षासँग सम्बन्धित विषय राखिनुपथ्र्यो र विषयविज्ञ शिक्षकबाट पढाइ गरिनुपथ्र्यो। सँगै चेतना अभिवृद्धिको अन्य व्यावहारिक ज्ञान पनि विद्यालय र क्याम्पसमै विद्यार्थीलाई सिकाइनुपथ्र्यो। तर, राज्यको ध्यान यसतर्फ गएको देखिँदैन।

जबरजस्ती करणीमा पीडित हुने अधिकांश १८ वर्षभन्दा मुनिका बालिका नै छन्। यसको कारणबारे कुनै अध्ययन भएको छैन। तर यस उमेरका बालिकालाई सजिलै प्रभावमा पारेर बलात्कार गर्ने गरेको प्रहरीको अनुसन्धानले देखाउँछ। डोटीमा रहेको बाल सुधार गृहमा क्षमताभन्दा बढी बालबन्दीहरु छन्। सुदूरपश्चिम प्रदेशकै एक मात्र बालसुधार गृह डोटीमा क्षमताभन्दा बढी बालबन्दी छन्।

२०७५ सालमा स्थापना भएको बालसुधार गृहमा २५ जना बालकहरू बस्न मिल्ने क्षमताको भएपनि हाल ४८ बालबन्दी छन्। बाल सुधार गृहमा क्षमता भन्दा बढी बालकहरू बस्ने हुँदा व्यवस्थापकीय पक्षमा गाह्रो हुने गरेको बाल सुधार गृह प्रमुख प्रशासकीय अधिकृत लिम्बुले बताइन्। सो भवन बालसुधार गृहका लागि नभएर साबिकको महिला तथा बालबालिका कार्यालयका लागि निर्माण गरिएको थियो।

बाल सुधार गृहका लागि आवश्यक मापदण्ड अनुसार नहुँदा समस्या भइरहेको छ। खेलमैदान सँगै खेलकुद सामाग्री समेत नभएको पाइएको छ। बाल न्याय सम्पादन (कार्यविधि) नियमावली २०७६ परिच्छेद–२ को ६ मा बाल सुधार गृहमा स्वच्छ पिउने पानी, पोषणयुक्त खानेकुरा लगायतका न्यूनतम सुविधाको व्यवस्था हुनुपर्ने उल्लेख छ। क्षमताभन्दा बढी बालकहरु राखेका कारण शौचालय जान समेत लाइन लाग्नु पर्ने बाध्यता छ। चारवटा कोठा मात्रै रहेको बाल सुधार गृह, डोटीमा एउटै कोठामा ठेलमठेल गरेर बस्नु पर्ने बाध्यतामा बालबन्दी छ।

कमेन्ट लोड गर्नुस