सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा सयपत्री ढकमक, पुष्प व्यवसायी उत्साहित

२०८० कार्तिक १८, ०६:४० नारायण अवस्थी

धनगढीः सयपत्री ढकमक भएपछि धनगढीका पुष्प व्यवसायी उत्साहित भएका छन्। किसानले तिहारलाई लक्षित गरेर रोपेका विभिन्न प्रकारका सयपत्री फूल बारीमा ढकमक फुलेका छन्।

धनगढीमा यो वर्ष दुई दर्जन बढी किसानले पुष्प खेती गरेका छन्। किसानहरूले फूल तथा मालाको माग भएमा तिहार तथा अन्य समयमा घरमै सेवा उपलब्ध गराउने भएका छन्। किसानहरूले धनगढीमा  उत्पादित फूल प्रयोग गरेर आफूहरूको व्यवसायलाई  प्रोत्साहन गर्न आग्रह समेत गरेका छन्।

धनगढी उपमहानगरपालिकाले पुष्पखेतीको तालिम दिएका २६ जनामध्ये एक जना वडा नम्वर ७ स्थित मोतिचोकका जोगेन्द्र सेठी पनि हुन्। सेठीले यो वर्ष पहिलो पटक चार कट्ठा खेतमा पुष्प खेती गरेका छन्। सनराइज मल्टी एग्रो प्रालि स्थापना गरेर सेठीले यो वर्षबाट व्यावसायिक रुपमा पुष्प खेती थालेका हुन्।

तीन वर्ष अगाडि एग्रो प्रालि दर्ता गरेका सेठीले यो वर्ष जेठमा धनगढी उपमहानगरपालिकाले प्रदान गरेको पुष्पखेती सम्बन्धी एक हप्ते तालिम लिएपछि फूलखेती गर्ने साहस पलाएको बताए। ‘धनगढी उपमहानगरपालिकाले यो वर्ष हामी २६ जनालाई फूल खेती सम्बन्धी तालिम दिएको हो।

तालिम र त्यसपछि मेयर साबको हौसलाले पुष्पखेती गर्ने आँट पलाएको हो’, उनले भने, ‘मेयर साबले तपाईंहरू उत्पादन गर्नुहोस् बिक्री भएन भने उपमहानगरपालिकाले खरिद गर्छ भनेपछि ढुक्क भएर खेती गरियो र उत्पादन पनि राम्रै भएको छ।’ यो वर्ष पुष्पखेती सम्बन्धी तालिम लिएका २६ जना किसानमध्ये हरेकले कम्तिमा दुई कट्ठा र बढीमा डेढ बिघा जग्गामा पुष्पखेती गरेका छन्। दशैंदेखि किसानहरूले फूल बिक्री गर्न थालेका छन्।

पहिलो पटक फूलखेती गरिरहेका मोतिचोकका जोगेन्द्र सेठीले भने यो वर्ष चार किसिमको सयपत्री फूल उत्पादन गरेका छन्। सात सय बिरुवा रोपेका सेठीले कलकत्ते, टेनिस बल, कर्मा ५५५ र स्थानीय जातको सयपत्री फूल उत्पादन गरेका छन्।
मोतिचोकका सेठी र अन्य किसानको खेतमा अहिले सयपत्री फूल ढकमक भएको देख्न सकिन्छ। तिहारका लागि फूल किन्न चाहने व्यक्ति पुष्पखेती गरेको हेर्न बारीमा आइरहेका छन्।

फाट्टफुट्ट तिहारका लागि फूलको अर्डर आइरहेको भए पनि उत्पादित सबै फूल बिक्री नभएर लगानी खेर जाने पो हो कि भन्ने चिन्ता किसानहरूमा छ। धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाले झै प्लास्टिकबाट बनेका फूल र माला खरिद बिक्रीमा अन्य पालिकाले पनि प्रतिबन्ध लगाए उत्पादित फूल सजिलै  बिक्री हुने आशा किसानहरूले गरेका छन्।

किसानहरूलाई तिहारमा फूलको माग उच्च भएको समयमा भारतबाट थोरै सस्तोमा आउने फूलले बजार कब्जा गर्ने हो कि भन्ने चिन्ता लाग्न थालेको छ। भारतीय फूलभन्दा धनगढीमा उत्पादित फूल राम्रो र ताजा प्रयोग गर्न पाउने भएकाले स्वदेशी र स्थानीय उत्पादनलाई रोज्न सेठीले आग्रह गरेका छन्। 

‘हामीहरूको बारीमा फूलको उत्पादन राम्रो छ। तिहारमा आउने माग धान्ने हिसाबले धनगढीमा फूल उत्पादन भएको छ’, उनले भने, ‘तर, भारतबाट आउने फूल र प्लास्टिकको फूलले हाम्रो बजार कब्जा गर्ने हो कि भन्ने चिन्ता लाग्न थालेको छ। स्थानीय सरकार र प्रशासनले भारतीय फूलको आयात रोक्न सके हाम्रो उत्पादन खेर जान्न।’

धनगढीका पुष्प व्यवसायी किसानले स्थानीय सरकार र प्रशासनले प्लास्टिकको फूल र माला आयात र बिक्री वितरणमा कडाइ गरे आफूहरुले उत्पादन गरेको फूलले बजार पाउने बताएका छन्। उनीहरूले स्वदेशी उत्पादन रोजेर प्रोत्साहन गर्न सर्वसाधारणलाई आग्रह समेत गरेका छन्।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस