कैलालीमा जघन्य अपराधको ग्राफः तीन वर्षमा १४४ ज्यान सम्बन्धीका मुद्दा दर्ता
धनगढीः कैलालीमा कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दाको संख्या बढ्दै गएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीले तीन वर्षको अवधिमा कर्तव्य ज्यान अन्तर्गत ४७ मुद्दा दर्ता गरेको पाइएको छ। सो अवधिसम्म ज्यान मार्ने उद्योग अन्तर्गत प्रहरीले थप ९७ मुद्दा दर्ता गरेको हो। कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग अन्तर्गत मात्र तीन वर्षको अवधिमा जिल्ला प्रहरी कार्यालय कैलालीले एक सय ४४ मुद्दा दर्ता गरेको अभिलेख छ।
आर्थिक वर्ष २०७७/७८ मा कर्तव्य ज्यान अन्तर्गत १६ मुद्दा जिल्ला प्रहरी कार्यालय कैलालीले दर्ता गरेको हो। यो संख्या आर्थिक वर्ष २०७८/७९ मा बढेर १७ पुगेको छ। कर्तव्य ज्यान मुद्दाको संख्या गत आर्थिक वर्ष २०७९/८० मा भने घटेको पाइएको छ। सो अवधिमा १३ मुद्दा दर्ता भएको प्रहरी कार्यालयको तथ्यांक छ।
जघन्य अपराध अन्तर्गत ज्यान मार्ने उद्योगमा धेरै उजुरी प्रहरीमा दर्ता भएको अभिलेख छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार ज्यान मार्ने उद्योग अन्तर्गत आर्थिक वर्ष २०७७/७८ मा ४६ वटा मुद्दा दर्ता भएका थिए। यस्तो मुद्दाको संख्या आर्थिक वर्ष २०७८/७९ मा घटेर २९ तथा गत वर्ष २२ वटा मात्र दर्ता भएको देखिएको छ। जिल्लाभित्र कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगका घटनामा प्रायः आफन्त नै संलग्न रहने गरेको समेत खुलेको छ।
प्रायः यस्ता घटना आफन्तबाटै हुने गरेको देखिएको हो। बुवाले छोरा र छोराले बुवा मात्र नभएर छोराले आमालाई समेत मारेका घटना प्रहरीमा दर्ता भएका छन्। साथै श्रीमानबाट श्रीमती नै असुरिक्षत भएका कयौँ घटना पनि प्रहरीमा पुग्ने गरेको प्रहरी अधिकृतहरुले बताएका छन्।
कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग जस्तो जघन्य अपराधका घटना वर्षेनि संख्याको आधारमा घटबढ हुने गरेको देखिए पनि यस्ता घटनाबाट समाजमा असुरक्षा र त्रास पैदा गरेको सरोकारवाला बताउँछन्। यस्ता विविध अपराधको चढ्दो ग्राफले समाज थप आक्रान्त बन्न पुगेको छ। यस प्रकृतिका अपराध हुन नदिन प्रहरी सँगसँगै प्रदेश र स्थानीय सरकारले पनि सचेतना लगायतका कार्यक्रम सञ्चालन गर्नुपर्ने अधिकारकर्मीहरु बताउँछन्।