सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी उपमहानगरले बिजुलीको चिम परीक्षण गर्न नमूना काठमाडौं पठायो

२०८० कार्तिक १८, १०:०२ नारायण अवस्थी

धनगढीः धनगढी उपमहानगरपालिकाले बिजुलीको चिमको गुणस्तर परीक्षण गर्न नमूना काठमाडौं पठाएको छ। सडकका पोलमा लगाउने चिमको गुणस्तरमा प्रश्न उब्जिएपछि उपमहानगरले परीक्षण गर्ने निर्णय लिएको हो।

यो वर्ष वडा कार्यालयबाट खरिद गरिएका चिममा गुणस्तरको विवाद आएपछि नमूना संकलन गरेर परीक्षण गर्न पठाएको हो। वडा कार्यालयबाट कोटेसनमा खरिद गरिएका चिम विरुद्ध व्यापारीबाटै उजुरी आएपछि उपमहानगरले गुणस्तर परीक्षण गर्ने निर्णय गरेको छ। चिमका विषयमा उजुरी प्राप्त भएपछि गुणस्तर परीक्षण गर्नु परेको नगर प्रमुख गोपाल हमालले बताए।

‘यो वर्ष सडकमा जडान गर्ने बत्तीको गुणस्तरका विषयमा गुनासो आएपछि गुणस्तर परीक्षण गर्न नमूना संकलन गरेर काठमाडौ पठाएका छौँ’, उनले भने, ‘चिम खरिद भएका वडाहरूबाट १७ वटा नमूना संकलन गरेर काठमाडौ पठाइएको छ।’ यो वर्ष वडा कार्यालयहरूले आफ्नो वडा क्षेत्रका सडकहरूमा जडान गर्न खरिद गरिएका चिमहरूको गुणस्तर कमसल भएको उजुरी आएपछि उपमहानगरले खरिद गरिएका चिमहरूको नमूना संकलन गरेर परीक्षणका लागि काठमाडौ पठाइएको नगर प्रमुख हमालले बताए।

धनगढीका १९ वडा मध्ये केही वडाले कोटेसनमा बिजुलीका चिम खरिद गरेका थिए। चिम खरिद गरिएका वडाबाट नमूना संकलन गरेर परीक्षण गर्न ललितपुरमा रहेको नवीकरणीय उर्जा परीक्षण केन्द्रमा पठाइएको छ। बिजुलीको चिमको गुणस्तरबारे व्यापारीहरूबाट नै उपमहानगरमा उजुरी परेको हो। उजुरी आएपछि वास्तविकता थाहा पाउन उपमहानगरले आफ्ना कर्मचारीलाई संकलन गरिएका नमूना दिएर बिहीवार काठमाडौं पठाइएको छ।

शुक्रवार संकलित नमूना नवीकरणीय उर्जा परीक्षण केन्द्रमा बुझाउने काम भएको छ। एक हप्ताभित्र परीक्षण रिपोर्ट आउने छ। परीक्षणको नतिजा आएपछि आवश्यक निर्णय लिइने नगर प्रमुख गोपाल हमालले बताए। धनगढी उपमहानगरले हरेक वर्ष दशैं र तिहारमा सडक बत्ती नभएको ठाउँमा बत्ती जडान गर्दै आएको छ। सडक बत्ती जडानका लागि वडाहरूले नै काम गर्दै आएका छन्।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस