सुदूर नेपाललाई विश्वसँग जोड्दै

सवारी ज्यान मुद्दामा पक्राउ परेका धर्मेन्द्र बाँस्तोला ७० हजार रुपैयाँ धरौटीमा रिहा

२०८० कार्तिक १७, ०८:१६ खबर संवाददाता

नेकपा (क्रान्तिकारी कम्युनिष्ट पार्टीं) का प्रवक्ता धर्मेन्द्र बाँस्तोला ७० हजार धरौटीमा रिहा भएका छन्। सवारी ज्यान मुद्दाको अनुसन्धानको क्रममा विगत १५ दिनदेखि इलाका प्रहरी कार्यालय भालुबाङको हिरासतमा रहेका बाँस्तोलालाई जिल्ला अदालत दाङले ७० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो।

न्यायाधीश ताराकुमारी शर्माको एकल इजलासले बाँस्तोलालाई धरौटीमा रिहा गर्ने आदेश गरेको हो। बाँस्तोलालाई शुक्रवार अदालतमा पेश गरिएको थियो। पूर्वपश्चिम राजमार्गअन्तर्गत कार्तिक २ गते राति पौने १० बजेतिर राप्ती गाउँपालिका–५ सिंङ्गेनजिकै बा ९ च ७१९८ नम्बरको नेता बाँस्तोलाले चलाएको स्कार्पियोले विपरीत दिशातर्फ गइरहेको रा ६ प ५७३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

बाँस्तोलाले चलाएको स्कार्पियोले मोटरसाइकललाई ठक्कर दिँदा राप्ती गाउँपालिका–५ का २९ वर्षीय बसन्तराम चौधरीको मृत्यु भएको थियो। उनको मृत्यु पछि प्रहरीले नेता बाँस्तोलालाई नियन्त्रणमा लिएको थियो।
 

कमेन्ट लोड गर्नुस