सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीबाट वर्षेनि हराउँछन् महिलाहरु, एक सयको संख्यामा अझै बेपत्ता!

२०८० कार्तिक १७, ०२:४४ खबर संवाददाता

धनगढीः कैलालीबाट हरेक वर्ष महिलाहरु हराउने क्रम बढ्दै गएको छ। हराएको लामो समयसम्म फेला नपर्दा परिवारका सदस्य चिन्तित बन्ने गरेका छन्।

हराएको केहि समयपछि केहि महिलाहरु फेला पर्ने गरेको समेत पाइएको छ। तर हराएको लामो समयदेखि फेला नपर्ने महिलाको संख्या पनि कैलालीमा ठूलै देखिएको छ। तीन वर्षको अवधिमा मात्र कैलालीका विभिन्न स्थानबाट गरी एक हजार दुई सय ३९ महिला हराएको निवेदन प्रहरीमा परेको हो। 

आर्थिक वर्ष २०७७/७८ मा कैलालीबाट तीन सय ७९ महिला हराएको निवेदन जिल्ला प्रहरी कार्यालय कैलालीमा परेको अभिलेख छ। सो अवधिमा हराएका मध्ये अधिकांश महिला केहि समयपछि सम्पर्कमा आए पनि १० महिलाको भने कुनै अत्तोपत्तो लाग्न सकेको छैन्।

त्यस्तै आर्थिक वर्ष २०७८/७९ मा कैलालीबाट ६६५ महिला र बालबालिका हराएको प्रहरी तथ्याङ्कले देखाएको छ। सो अवधिमा खोजतलासको क्रममा ५९८ जना फेला परेका थिए भने ४९ महिला, १३ बालिका र ५ बालकसहित ६७ जना अझैसम्म बेपत्ता छन्। गत आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी ७३३ महिला र बालबालिका हराएको प्रहरी अभिलेख छ।

तीमध्ये ६७८ फेला परेका छन भने ४५ महिला, ९ बालक र एक बालिका अझै बेपत्ता छन्। जिल्लामा महिला तथा बालबालिका हराउने क्रम बढ्दै गएपछि सरोकारवाला चिन्तित बनेका छन्। हराएकामध्ये धेरै जसो महिला लामो समयसम्म फेला नपर्दा आफन्त र परिवारका सदस्य चिन्तित छन्।

तीन वर्षको अवधिमा एक हजार ९२२ महिला र बालबालिका बेपत्ता भएकामा एक हजार ७८९ जना फेला परे पनि १०४ महिला भने फेला परेका छैनन्। जिल्लाभित्रबाट हराउनेमा विवाहितदेखि अविवाहितसम्मै रहेको समेत पाइएको छ। महिला हराउने समस्या जिल्लाभित्र वर्षेनि बढ्दै गए पनि हराउनुको ठोस कारणबारे अझै अध्ययन हुन सकेको छैन्।

कमेन्ट लोड गर्नुस