सुदूर नेपाललाई विश्वसँग जोड्दै

अत्तरिया–धनगढी ३३ केभीको काम एक वर्षसम्म पूरा भएन

२०८० कार्तिक १६, ०२:३० कमल सावद

धनगढीः अत्तरिया–धनगढी ३३ केभी विद्युत् प्रसारण लाइन विस्तारको काम एक वर्षसम्म पूरा भएको छैन। अत्तरियादेखि नेपाल विद्युत् प्राधिकरण, धनगढी वितरण केन्द्रसम्म १३ किलोमिटर नयाँ लाइन विस्तारको काम एक वर्षसम्म पूरा नभएको हो।

१३ किलोमिटरमा नयाँ ३३ केभी प्रसारण लाइन विस्तार गर्न चार करोड ६१ लाख ९३ हजारमा ६ महिना भित्र काम पूरा गर्न गत वर्षको मंसिरमा ठेक्का सम्झौता भएको थियो। तर, सम्झौताको एक वर्षसम्म पनि लाइन विस्तारको काम पूरा नभएको हो। विद्युत् प्राधिकरण, प्रादेशिक कार्यालय अत्तरियासँग मौजुदा रहेका विद्युत सामाग्री दिनेगरी दुई करोड २२ लाख ८१ हजार रुपैयाँमा ठेक्का सम्झौता गरिएको छ। निर्माण कम्पनीले काममा ढिलासुस्ती गर्दा लाइन विस्तारको काम एक वर्षसम्म पूरा नभएको हो।

नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय, अत्तरियाका प्रमुख जंगबहादुर चन्दका अनससार कात्तिक पहिलो साता ३३ केभीको लाइन चार्ज गरिएको छ। तर, नयाँ ३३ केभीमार्फत विद्युत् प्रभाहको भएको छैन। नेपाल विद्युत् प्राधिकरण, धनगढी वितरण केन्द्रको स्टेसनमा जडानको काम अझै बाँकी रहेको हो। चन्दका अनुसार अत्तरिया क्षेत्रमा पोलहरुसमेत सुधार गर्नुपर्ने देखिएको छ। बाङ्गो भएका पोल सुधार र धनगढी वितरण केन्द्रमा बाँकी रहेको काम पूरा भएपछि ३३ केभीको नयाँ लाइनबाट विद्युत् प्रवाह हुने चन्दले बताए। उनले भने, ‘३३ केभी चार्ज गरिएको छ। सुधारको काम हुँदैछ। भदौमा पनि पानी आएको थियो। पानीका कारण पोल बाङ्गो भएका छन्। अत्तरियामा पोल सुधार गर्न लगाएका छौ। जम्पर सुधार गर्न लगाएका छौ। अर्काे लाइन पनि बनाउदैछौ।’

प्राधिकरणले गर्मी समयभन्दा अगाडि नै विद्युत् लाइन विस्तारको काम सक्ने लक्ष्य लिएकोमा चिसो महिना सुरु हुँदा पनि पूरा भएको छैन। तीन/ चार दिनमा काम पूरा हुने चन्दले बताए। नेपाल विद्युत प्राधिकरण, धनगढी वितरण केन्द्रका निमित्त प्रमुख मोहनदेव जोशीले स्टेसनमा जडानको काम बाँकी रहेको बताए। उनले भने, ‘लाइन विस्तारको काम सकिएको हो। चार्जसमेत गरेका छौ। सव–स्टेसनमा जोड्न बाँकी छ। तिहार भित्र काम पूरा हुन्छ।’

अत्तरिया–धनगढी विद्युत् लाइन पुरानो तथा कम क्षमताको भएकाले तार चुँडिने समस्या छ। नयाँ ३३ केभीको लाइन विस्तारको काम पूरा भए विद्युतको तार चुँडिने समस्या समेत हल हुने दाबी प्राधिकरणको छ। अत्तरिया–धनगढी पुरानोसहित नयाँ ३३ केभीको लाइनबाट विद्युत प्रवाह हुने छ। कञ्चनपुरको पुनर्वास क्षेत्रका लागि पनि ३३ केभीको पोलबाट नयाँ लाइन विस्तार गरिएको छ। १३ मिटर लम्बाईका पोलहरुमा दुई लाइन हुने भएको हो।

विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय, अत्तरियाका प्रमुख चन्दका अनुसार तारको क्षमता अहिलेको तारभन्दा धेरै छ। विद्युतका पोलहरू पनि गुणस्तरीय छन्। पुराना विद्युत संरचनाका कारण विद्युत आपूर्तिमा समस्या हुने गरेको छ। धनगढीको विद्युत समस्या समाधानका लागि सव–स्टेशनसँगै नयाँ विद्युत लाइनसमेत आवश्यक छ। नयाँ विद्युत लाइन विस्तारको काम पूरा भए विद्युत् समस्या समाधान हुने दाबी प्राधिकरणको छ।

 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस