सुदूर नेपाललाई विश्वसँग जोड्दै

अव्यवस्थित तारका कारण धनगढी कुरूप, १५ दिनभित्र व्यवस्थित गर्न निर्देशन

२०८० कार्तिक १५, ०६:४३ कमल सावद

धनगढीः सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी कैलालीको धनगढी तारका कारण जोखिमसँगै कुरूप बन्दै गएको छ। धनगढीमा मुख्य सडकसँगै सहायक सडकहरुका पोलमा इन्टरनेट तथा केवल टिभीका तारका गुल्टा नै छन्।

तारहरुको व्यवस्थापनका लागि धनगढी उपमहानगरपालिकाले मंसिर ४ गते इन्टरनेट र केवल नेटवर्क कम्पनीहरुसँग बैठक गरेको थियो। उपमहानगरपालिकाले बैठकमा तारहरु व्यवस्थित बनाउन भनेको थियो। तर, इन्टरनेट र केवल कम्पनीहरुले बेवास्ता गरेका छन्। नगर प्रमुख गोपाल हमालले बैठकमा सबै कम्पनीहरुलाई तार व्यवस्थित बनाउन भनिएको बताए। उनले भने, ‘पोलमा आगो लाग्ने मात्र कुरा होइन। पोलको आगो घरमा सल्किने जोखिम छ। हामीले बैठक बोलाएका थियौ।

बैठकमा तारहरु व्यवस्थित बनाउन भनेका थियौ। तर, अहिलेसम्म व्यवस्थित भएको छैन।’ इन्टरनेट तथा केवल टिभीका कम्पनीहरूले विद्युत् प्राधिकरणका पोलहरूमा तार विस्तार गर्दै आएका छन्। उनीहरूले मासिक विद्युत् प्राधिकरणलाई पोलमा तार विस्तार गरेको भाडासमेत दिने गरेका छन्। तर, अव्यवस्थित तारका कारण आगलागीसँगै सहर कुरूप हुँदा पनि प्राधिकरणले बेवास्ता गर्दै आएको छ।

पोलमा भएको आगलागीले घरमासमेत क्षति हुने सम्भावना भए पनि विद्युत् प्राधिकरणले वास्ता गरेको छैन। विद्युत् प्राधिकरण, धनगढीका निमित्त प्रमुख मानदेव जोशीले तारहरु व्यवस्थित गर्न प्राधिकरणले समेत आग्रह गर्दै आएको बताए। उनले भने, ‘तारकै कारण आगो लाग्ने त हुँदैन। तर, विद्युतको तारको आगो तल झरेमा समस्या हुन सक्छ। उहाँहरुका तारका कारण हामीलाइ समेत कहिलेकाँही समस्या हुने गरेको छ। पोलहरुमा तार भएपछि नराम्रो पनि देखिन्छ।’

चिसोयाम भन्दा गर्मी मौसममा धनगढीका बिजुलीको तार सर्ट हुने समस्या छ। विद्युत् प्राधिकरणका पोलहरूमा विस्तार गरिएका तारहरूमा समेत आगो सल्किने गरेको छ। सडकका पोलबाट सल्किएको आगो घरसम्म पुग्ने जोखिम छ। अव्यवस्थित तारका कारण दुर्घटनाको डर बढेको मात्रै नभएर धनगढीलाई कुरूप पनि बनाएको छ।

धनगढीका सुन्दर घरलाई नै कुरूप बनाउने गरी सबैतिर माकुरोको जालो जस्तै रहेका तारले आकर्षक घरलाई मात्रै नभई सिङ्गो नगरलाई नै कुरूप बनाइएको छ। तारहरु १५ दिनभित्र व्यवस्थित गर्न उपमहानगरपालिकाले निर्देशन दिएको छ। नगर प्रमुख हमालले १५ दिनभित्र तार व्यवस्थित बनाउन सूचना सार्वजनिक गरेको बताए।

‘अहिले सूचना निकालेका छौ। १५ दिनभित्र सुधार भएन भने, हामी तार काट्छौ। इन्टरनेटका ग्राह र कम्पनीलाइ क्षति हुन्छ,’ उनले भने। प्रदेशको अस्थायी राजधानी धनगढी अव्यवस्थित तारका कारण कुरूप बन्दै गएको छ। धनगढीका सडकहरूका पोलहरूमा इन्टरनेट तथा केवल नेटवर्क कम्पनीहरूले मनोमानी तार तान्ने गरेका छन्।

विद्युत प्राधिकरणले पोल प्रयोग गर्न अनुमति दिने गरेको छ। तर, पोलबाट भाडा असुल गर्दै आएको प्राधिकरणले अव्यवस्थित तारका कारण हुने जोखिम र सहरको सुन्दरतालाई भने ध्यान दिने गरेको छैन्। साथै विद्युतसँगै टेलिफोन, इन्टरनेट, केवल टेलिभिजन लगायतका तार भूमिगत गर्न सके यस्तो समस्या दिर्घकालिन रुपमा हल हुने देखिन्छ।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस