सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीबाट २९ बालबालिका गायब!

२०८० कार्तिक १५, ०२:०३ खबर संवाददाता

धनगढीः कैलालीको बडैपुर शिविरका दुई बालिका गायब (बेपत्ता) छन्।

गौरीगंगा नगरपालिका–८ बडैपुर शिविरमा बस्दै आएका पार्वती बोहराकी ९ वर्षीया छोरी मुना बोहरा र सोहि शिविरमा बस्दै आएकी गंगा ओलीकी १० वर्षीया छोरी गौरी ओली साउन २६ गतेदेखि बेपत्ता छन्। दुबै बालिका साउन २६ गते शुक्रबार दिँउसो घर नजिकैको लिक्मा नदिमा नुहाउन गएका थिए। हराएका बालिका अझै फेला परेका छैनन्। दुबै बालिका नजिकैको त्रिपुरेश्वर प्राविमा अध्ययनरत थिए।

त्यस्तै लम्कीचुहा नगरपालिका–५ तिलकपुरबाट मेला हेर्न गएका दुई बालक पनि ९ दिनदेखि बेपत्ता छन्। स्थानीय जनप्रभात माविमा कक्षा ७ र ५ मा अध्ययनरत प्रकाश विक र लक्ष्मण विकको अवस्था अझै अज्ञात छ। ११ वर्षीय लक्ष्मण र १५ वर्षीय प्रकाश फेला परेका छैनन्। बेपात्ता भएको ९ दिन वितिसक्दा समेत कुनै अत्तोपत्तो नभएको लक्ष्मणका बुवा बलबहादुर विकले बताए।

पुख्र्यौली घर अछाम भई हाल तिलकपुर बस्दै आएका बलबहादुरले छोरा बेपत्ता भएको लामो समयसम्म खोजीकार्य गर्दा समेत फेला नपरेको गुनासो गरे। परिवारले बालक खोजिदिन जिल्ला प्रहरी कार्यालयमा निवेदन समेत दिएका छन्। कैलालीमा बालबालिका हराउने समस्या यसैगरी बढ्न थालेको छ। जिल्लाका विभिन्न स्थानबाट तीन वर्षको अवधिमा बालिका ४६० र २२३ बालक हराएको प्रहरीको तथ्यांक छ।

आर्थिक वर्ष २०७७/७८ मा कैलालीबाट ९८ बालिका र ४७ बालक हराएको निवेदन प्रहरीमा परेको थियो। सो अवधिमा हराएका धेरै बालबालिका फेला परे पनि एक बालकको अवस्था भने अझै अज्ञात छ। त्यस्तै आर्थिक वर्ष २०७८/७९ मा हराएका १३ बालिका र ५ बालक अझैसम्म बेपत्ता छन्। गत आर्थिक वर्ष २०७९/८० मा हराएका ९ बालक र एक बालिका पनि अझै बेपत्ता छन्।

जिल्लामा महिला तथा बालबालिका हराउने क्रम बढ्दै गएपछि सरोकारवाला चिन्तित बनेका छन्। हराएकामध्ये धेरै जसो महिला तथा बालबालिका लामो समयसम्म फेला नपर्दा आफन्त र परिवारका सदस्य चिन्तित छन्। तीन वर्षको अवधिमा १५ बालक र १४ बालिका फेला परेका छैनन्। प्रहरीले हराएका महिला तथा बालबालिकाको खोजी गर्ने काम गर्दै आएको भए पनि यति धेरै संख्यामा किन महिला तथा बालबालिका हराउँछन भन्ने विषयमा भने ठोस रुपमा अध्ययन हुन सकेको छैन्।

कमेन्ट लोड गर्नुस