सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रतिबन्धित प्लास्टिकका फूलमाला चोरबाटो हुँदै धनगढी भित्रियो

२०८० कार्तिक १५, १२:०२ अनिता चौधरी

धनगढीः धनगढी उपमहानगरपालिकाले प्रतिबन्धित गरेको प्लास्टिकका फूलमाला चोरबाटो हुँदै धनगढी भित्र्याइएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदिप चन्दका अनुसार मंगलबार प्रहरी गस्ती टोलीले धनगढी उपमहानगरपालिका–१ बाट प्लास्टिकका फूलमाला र टिकासहित ८० हजार बढीका सामान नियन्त्रणमा लिएको छ। धनगढी उपमहानगरपालिकाले स्थानीय किसानहरुलाई फूलखेती तालिम दिएर फूल उत्पादन गरिरहेका बेला यहाँका व्यापारीहरुले भने अबैध चोरबाटो हुँदै भारतबाट प्रतिबन्धित प्लास्टिकका फूलमाला भित्र्याइरहेको पाइएको छ।

धनगढीमा साउनतिर रोपेका सयपत्री र मखमली फूलहरू असोजदेखि नै फूल्न थालको धनगढीका फूल व्यवयायीहरुले बताएका छन्। मागअनुसार फूलका माला बनाउने कामसमेत गर्ने गरेको उनीहरुले बताए। तर चोरबाटो हुँदै प्लास्टिकका फूलमाला भित्रिएपछि यहाँ उत्पादित फूलले बजार नपाउँने भन्दै किसान चिन्तित छन्।

अहिले धनगढी उपमहानगरपालिकाले भारतबाट आउने फूल र प्लास्टिकजन्य फूलका मालालाई निरुत्साहित गरिरहेको छ। फूलका मालासहित दुई जिल्लाबाट एकै दिन साढे पाँच लाख बढीका सामान बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।
अबैध सामान प्रहरी नियन्त्रणमा
धनगढी उपमहानगरपालिका–९ बङग्राकटानबाट प्रहरीले अबैध सामान बरामद गरेको छ। करिब ७७ हजार मूल्य बराबरका प्याज, सिम्ला खुर्सानी, हरियो खुर्सानी, धनगढी–१ कलाकारचोक र बालुवाघाटबाट करिब ८० हजार पाँच सय मूल्य बराबरका कुर्ता सुरुवाल, लेडिज सुट, सप्तरंगी टिका, फुलमाला तथा धनगढी–२ भन्सार रोड नजिकबाट करिब ७१ हजार दुई सय ९० मूल्य बराबरका चिनी, मैदा, खुर्सानी, नरिवल, लेडिज जुता, बच्चाको जुता लगायत गरी दुई लाख २८ हजार ७ सय ९० मूल्य बराबरका अबैध सामान प्रहरीले नियन्त्रणमा लिएको हो।

त्यस्तै धनगढी उपमहानगरपालिका–३ बोराडाडी चोकस्थित न्यु साहिबा टर्बो रिपेयर सेन्टरबाट पनि एक लाख ५० हजार पाँच सय मूल्यका अबैध हार्डवेयरका सामानसहित एक जनालाई पक्राउ गरिएको छ। भारतको बिहार मोतिहारी घर भई हाल धनगढी–३ मा कोठा गरी बस्ने २७ वर्षीय निजामुनी अन्सारीलाई अबैध सामानसहित मंगलबार नियन्त्रणमा लिएको प्रहरीले बताएको छ।

अबैध सामानसहित संलग्न अन्सारीलाई आवश्यक कारबाहीका लागि कैलाली भन्सार कार्यालय त्रिनगरको जिम्मा लगाइएको छ। उता कञ्चनपुरको भीमदत्त नगरपालिका–४ र ६ बाट पनि एक लाख ७४ हजार १० रुपैँया बराबरका अबैध लेडिज सुट, धोती, जुता, चिनी, मिठाई, फुलमाला लगायतका सामान मंगलबार प्रहरीले नियन्त्रणमा लिएको छ।

अनिता चौधरी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस