सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराकोे प्याज कैलालीको बजारमा

२०८० कार्तिक १४, ०७:२६ खबर संवाददाता

धनगढीः बाजुराको प्याज कैलालीको बजारमा पुगेको छ। जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकामा उत्पादन भएको अर्गानिक प्याज कैलालीको अत्तरिया पुगेको हो।

स्वामीकार्तिक गाउँपालिकाको बाहुन गाउँमा उत्पादन भएको प्याज बिक्रिकालागि मङ्गलवार कृषि थोक बजार अत्तरियामा ल्याइएको छ। प्याज अत्तरियासम्म ल्याउन सुदूरपश्चिमको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले ढुवानी सहयोग गरेको छ। जिल्लाको स्वामीकार्तिक गाउँपालिका र बडीमालिका नगरपालिकाले बजारीकरण तथा प्रर्वद्धनकालागि सहयोग गरेका छन्। कार्तिक स्वामी बहुउदेश्यीय सहकारी संस्थाले सङ्कलनका लागि सहयोग गरेको हो।

स्वामीकार्तिक खापर गाउँपालिकामा करिब २ सय क्विन्टल प्याज उत्पादन भएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख मिन प्रसाद जैसीले बताएका छन्। आज करिब ४५ क्विन्टल प्याज अत्तरिया ल्याइएको उनले बताए। उनले सडक सुविधा नभएका कारण प्याज ढुवानी समयमा गर्न नपार्ईएको बताए। प्याज उत्पादन हुने सिजनमा वर्षाका कारण ग्रामीण सडकहरु बिग्रीएपछी लामो समय स्टोरमा राख्नु परेको उनले बताए।

प्याज बजारीकरणमा प्रदेश सरकारको सहयोग रहने कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरीले बताए। स्थानीय उत्पादनकालागि सुदूरपश्चिममा बजारीकरणको समस्या नभएको उनले बताए।

सहजरुपमा बजारीकरण गर्न ज्ञान केन्द्रलाई पनि निर्देशन दिइएको उनको भनाई थियो। स्थानीय स्तरमा उत्पादन हुने कृषिजन्य सामग्री स्वस्थ तथा अर्गानिक हुने भएकोले बिक्री तथा उपभोग गर्न उनले आग्रह गरे।

 

कमेन्ट लोड गर्नुस