सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा महिलालाई ठक्कर दिएर फरार भएका चालक पक्राउ

२०८० कार्तिक १४, ०३:१८ खबर संवाददाता

धनगढीः कैलालीमा एक महिलालाई ठक्कर दिएर फरार भएका कार चालक पक्राउ परेका छन्।

पूर्वपश्चिम राजमार्गअन्तरगत गौरीगंगा नगरपालिका–६ को बनबेहडामा दशैंको भोलिपल्ट नम्बर नखुलेको कारको ठक्करबाट घाइते गोदावरी नगरपालिका–९ की ६० वर्षीय मनादेवी रावतको मृत्यु भएको थियो। गम्भीर घाइते उनको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो। तर ठक्कर दिएर भागेको कारको पहिचान हुन सकेको थिएन।

इलाका प्रहरी कार्यालय मालाखेतीले सीसीटीभी क्यामेराको फुटेजका आधारमा ठक्कर दिने कार पत्ता लगाएर नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेश बरालले रूपन्देहीको तिलोतमा नगरपालिका–११ महुबारीका ५० वर्षीय ज्ञानराज पाण्डेले चलाएको बा १५ च ८४७० नम्बरको कारले ठक्कर दिएको खुलेको हो।

भारतको नैनीताल घुम्न गएका उनी महिलालाई ठक्कर दिएर भागेका थिए। पाण्डेलाई बुटवल प्रहरीको सहयोगमा आइतबार पक्राउ गरिएको डीएसपी बरालले बताए। अहिले कार र चालकलाई इलाका प्रहरी कार्यालय मालाखेतीमा राखिएको उनले बताए। चालकले समेत गल्ती भएको स्वीकार गरेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस