धनगढीका सामुदायिक विद्यालयमा शिक्षकको विषयगत दरबन्दी नै नमिलेको खुलासा

धनगढीः धनगढी उपमहानगरपालिकामा ७२ वटा सामुदायिक विद्यालय छन्। धनगढीका ७२ सामुदायिक विद्यालयमा हाल ६८३ शिक्षक कार्यरत छन्। धनगढीमा प्राथमिक तहमा ३१२ शिक्षक कार्यरत छन्।
जसमध्ये स्थायी शिक्षक १९६ र राहत शिक्षक संख्या ११२ छ। बालविकास तर्फको करार दरबन्दी १४३ जना बालविकास शिक्षक कार्यरत छ। धनगढीमा कक्षा १ देखि ८ सम्मका आधारभूत विद्यालयको संख्या ४२ छ भने २६ वटा माध्यमिक विद्यालय छन्। तर, निम्नमाध्यमिक र माध्यमिक तहमा विषयगत शिक्षकको अनुपात समान नरहेको उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख नरेन्द्रबहादुर खातील बताए।
‘धनगढीःधनगढीक ७२ सामुदायिक विद्यालयमा स्थायीभन्दा राहत दरबन्दीमा कार्यरत शिक्षको संख्या बढी छ’, उनले भने, ‘निम्न माध्यमिक र माध्यमिक तहमा पनि शिक्षकहरूको विषयगत दरबन्दी पनि मिलेको छैन।’ धनगढी उपमहानगरपालिकाले दरबन्दी मिलान गरेर सबै विद्यालयमा विषयगत शिक्षकको व्यवस्थापन गर्ने तयारी थालेको छ। जसका लागि विद्यालयको सबै तहमा कार्यरत शिक्षकको विवरण अद्यावधिक गर्ने काम भइरहेको शिक्षा महाशाखा प्रमुख खातीले बताए।
‘सबै विद्यालयमा विद्यार्थी संख्याको आधारमा दरबन्दी मिलानको तयारी गरिरहेका छौँ’, उनले भने, ‘दरबन्दी मिलानको काम सबै विद्यालयमा विषयगत शिक्षकको व्यवस्थापन हुने हिसाबले गरिनेछ।’ धनगढी आधरभूत तह कक्षा (६–८) मा स्थायी दरबन्दीमा ४५ र राहत शिक्षकको संख्या ६३ रहेको छ। यसैगरी, माध्यमिक तहमा ५० जना दरबन्दी र ३५ जना राहत शिक्षक कार्यरत छन्। माध्यमिक तह कक्षा ११–१२ मा दरबन्दीमा ७ र राहत कोटाका १७ जना शिक्षक कार्यरत छन्।
धनगढीका सामुदायिक विद्यालय राहत शिक्षकको भरमा चलेको पाइएको छ। प्राथमिक तहदेखि माध्यमिक तहसम्म स्थायी शिक्षकको संख्या ३०२ छ भने करार र राहत शिक्षकको संख्या ३८१ रहेको छ। धनगढीका सामुदायिक विद्यालयमा राहत र करारका शिक्षकको संख्या बढी रहेकोे छ।
धनगढीमा हरेक विषयको ४२ जना शिक्षक आवश्यक रहे पनि सामाजिक बाहेक अन्य विषयका शिक्षकको संख्या ४२ भन्दा कम रहेको शिक्षा महाशाखा प्रमुख खातीले बताए। धनगढीका सामुदायिक विद्यालयमा विषयगत शिक्षकको अनुपात पनि नमिल्दो छ। नेपाली, अङ्ग्रेजी, गणित र विज्ञान विषयको भन्दा सामाजिक विषयको शिक्षक संख्या बढी छ।
माध्यमिक तहमा अङ्ग्रेजीका १८, सामाजिकका १६, नेपाली र गणित विषयक समान १५/१५, विज्ञान विषयका १३, विज्ञान गणितक ३ र ऐच्छिक विषयका ६ जना शिक्षक छन्। यस्तै, निम्नमाध्यमिक तहमा सामाजिक विषयका सर्वाधिक ३७ जना शिक्षक छन् भने अङ्ग्रेजीका २३, नेपालीका १७, गणितका १२,विज्ञानका ११ र विज्ञान गणितका ८ जना शिक्षक कार्यरत छन्।
.gif)


