सुदूर नेपाललाई विश्वसँग जोड्दै

नयाँ नोट साट्न ५० हजार व्यक्ति राष्ट्र बैंक धनगढी पुगे, २३ करोड सटही

२०८० कार्तिक १२, ०६:२९ नारायण अवस्थी

धनगढीः राष्ट्र बैंक धनगढीले यस वर्षको दशैको अवधिमा २३ करोड बढी नयाँ नोट सटही गरेको छ। राष्ट्र बैंकले यो वर्ष सर्वसाधारणसँग प्रत्यक्ष नयाँ नोट सटही गरेको हो।

नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय धनगढीले यस वर्षको दशैंको अवसरमा पाँच दिनमा सर्वसाधारणसँग २३ करोड ५१ हजार नयाँ नोट सटही गरेको छ। राष्ट्र बैंकको प्रादेशिक कार्यालय धनगढीले यो वर्ष असोज २९ देखि कात्तिक ३ गतेसम्म्म नयाँ नोट सटही गरेको छ। राष्ट्र बैंकले यो वर्ष आफ्नो सटही काउन्टरबाट सोझै सर्वसाधारणसँग नयाँ नोट सटही गरेको हो।

कात्तिक २९ गते पहिलो दिन बैंकले दुई करोड ५६ लाख ६० हजार नयाँ नोट सटही गरेको तथ्याङ्क छ। असोज ३० गते चार करोड ४१ लाख १९ हजार ५ सय, कात्तिक १ गते पाँच करोड ३९ लाख ३५ हजार ५ सय, कात्तिक २ गते ६ करोड ५२ लाख एक हजार ५ सय र कात्तिक ३ गते चार करोड १० लाख ६३ हजार ५ सय नयाँ नोट सटही गरिएको छ। यो वर्ष दैनिक १० हजार व्यक्तिका दरले ५० हजारले राष्ट्र बैंक धनगढी कार्यालमा आएर नयाँ नोट सटही गरेको अभिलेख छ।

यो वर्ष दशैंमा एक करोड ६ लाख ४ हजारको ५ रुपैयाँको नयाँ नोट सटही गरिएको छ। १० को एक करोड ९२ लाख १७ हजार ६३० को नयाँ नोट बजारमा आएको छ। त्यस्तै २० को ३ करोड ३२ लाख ८८ हजार ४२०, ५० रुपैयाँको ६ करोड ४७ लाख २८ हजार ७५०, एक सयको १० करोड २२ लाख १२ हजार दुई सय, ५० को ३ करोड ८५ लाख ८८ हजार र एक हजारको १९ करोड १४ लाख ६३ हजारको नयाँ नोट सटही गरिएको राष्ट्र बैंक धनगढीले जनाएको छ।

यो वर्षको तुलनामा गत वर्ष दोब्बर बढी रकमको नयाँ नोट सटही गरिएको थियो। गत वर्ष सुदूरपश्चिममा राष्ट्र बैंकले ५० करोड ६५ लाख नयाँ नोट बजारमा पठाएको थियो। गत वर्ष राष्ट्र बैंक धनगढीले आफ्नो काउन्टरबाट ६ करोड दुई लाख नयाँ नोट सटही गरेको थियो भने अन्य वाणिज्य बैंक र वित्तीय संस्था मार्फत ४४ करोड ६३ लाखको नयाँ नोट बजारमा पठाएको थियो। यो वर्ष राष्ट्र बैंकको सटही काउन्टरबाट मात्रै नयाँ नोट साट्ने काम भएपछि गत वर्षको भन्दा कम रकम सटही भएको देखिएको छ।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस