सुदूर नेपाललाई विश्वसँग जोड्दै

इन्डोनेसियाको राजधानी डुब्ने खतरा : अन्यन्त्रै सारिने

। फोटो स्रोत ।
२०७६ वैशाख १७, ०१:१० खबर संवाददाता

इन्डोनेसियाले आफ्नो राजधानी जकार्ताबाट अन्यत्र सार्ने भएको छ। इन्डोनेसियाका योजनामन्त्री मन्त्री ब्यामब्याङ ब्रोजोनेगोरोले राजधानी सार्ने निर्णय भएको जानकारी दिएका हुन्। उनले राष्ट्रपति जोको विडोडोले एउटा महत्वपूर्ण निर्णयअन्तर्गत राजधानीलाई अन्यत्र सार्ने विषय टुंगो लगाइएको बताए।
इन्डोनेसियामा यसै महिनाको सुरुमा भएको आमनिर्वाचनमा विडोडोले विजयी भएको घोषणा गरेपछि पछिल्लो निर्णय गरेका हुन्।

यद्यपी निर्वाचनको परिणाम भने आगामी मे २२ तारिखमा मात्र घोषणा हुने छ। राजधानी सार्ने निर्णय भए पनि नयाँ स्थानको भने टुंगो लागेको छैन। यद्यपि कतिपय सञ्चारमाध्यमले भने बोर्निओ टापुमा पर्ने पलाङ्करायामा नयाँ राजधानी राखिने बताएका छन। जकार्ता तीव्र गतिमा डुबिरहेका विश्वका शहरहरूमध्ये एक हो। यो शहरमा अहिले १ करोड मानिस बस्दै आएका छन्। अनुसन्धानकर्ताहरुले सन् २०५० सम्ममा जकार्ताको ठूलो हिस्सा डुबिसक्ने दाबी गरेका छन्। जकार्ताको आधाजसो हिस्सा समुद्रको सतहभन्दा तल पर्छ। 

जमिनमुनिको पानी अत्याधिक तान्ने क्रम बढ्दै गएपछि जाकार्ता डुब्ने खतरामा परेको हो। सन् १९४५ मा इन्डोनेसिया स्वतन्त्र भएदेखि नै राजधानी सार्ने मुद्दा पटक–पटक आउने गरेको थियो। सन् २०१६ मा गरिएको एउटा सर्वेक्षणका अनुसार जकार्तामा विश्वकै सबैभन्दा नराम्रो ट्राफिक जाम हुने गरेको थियो। योजनामन्त्रीका अनुसार जर्कातामा ट्राफिक जाम व्यवस्थापनमा प्रतिवर्ष ६.८ अर्ब डलर खर्च हुने गरेको छ। 
 

कमेन्ट लोड गर्नुस