सुदूर नेपाललाई विश्वसँग जोड्दै

सरकारी जग्गा कब्जा गर्ने माथि छानबिन गर्नुपर्छ – नेता सिंह

। फोटो स्रोत ।
२०७६ वैशाख १७, १२:२० खबर संवाददाता

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बालुवाटारको सरकारी जग्गा कब्जा गर्ने माथि छानबिन गरी कारबाही गर्नुपर्ने बताएका छन्। मंगलबार संखुवासभाको सदरमुकाम खाँदबारीमा नेपाल प्रेस यूनियनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता सिंहले बालुवाटारको सरकारी जग्गा कब्जा गर्नेहरु जोसुकै भए पनि छानबिन गरी कारबाही गर्नुपर्ने बताए।

अहिलेका सरकार अधिनायकवाद र अराजकतातर्फ अघि बढेको समेत नेता सिंहले आरोप लगाए। उनले भने, ‘वर्तमान नेकपा सरकारले शान्ति सुरक्षा दिन नसकेको अनुभूति भएको छ। निर्मलाहत्या काण्डदेखि सुन तस्करीलगायतका धेरै वटा काण्डमा सरकारले पारदर्शी काम गर्न सकेको छैन।’ नेता सिंहले सरकार संविधान अनुसार नचलेको पनि आरोप लगाए। उनले यो सरकारले सिंगो प्रेस स्वतन्त्रताको खिल्ली उडाएको टिप्पणी गरे।

उनले भने, ‘वर्तमान सरकारले समाचार लेखेकै भरमा पत्रकारहरु पक्राउ गर्ने र विभिन्न बाहानाबाजी बनाएर जेल हाल्ने गरिरहेको छ। विभिन्न बाहानामा पत्रकारहरुलाई लोभ्याउने भनेको नमानेको खण्डमा तर्साउने काम गरिरहेको छ।’ नेता सिंहले विकास र समृद्धि नारामा मात्रै सीमित रहेको बताए।

पूर्वी पहाडी जिल्लाहरुको भ्रमणमा निस्कनु भएका नेता सिंहको नेतृत्वमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसी, सरिता प्रसाईं, पूर्वमन्त्रीहरु हृदयराम थामी, राजेन्द्र केसी, तारामान गुरुङ, दीपक खड्कासहित खोटाङ, काठमाण्डौ, भोजपुर, मोरङ र पाँचथरलागयत कांग्रेस पार्टी जिल्ला सभापतिहरुको समेत सहभागिता रहेको छ। 
 

कमेन्ट लोड गर्नुस