सुदूर नेपाललाई विश्वसँग जोड्दै

यस वर्षको दशैंमा सुदूर पहाड जाने यात्रु घटे, बस व्यवसायी निराश

२०८० कार्तिक ९, ०६:४० नारायण अवस्थी

धनगढीः यस वर्षको दशैंमा धनगढीबाट सुदूर पहाड जाने यात्रुको संख्या घटेको छ। यो वर्ष अघिल्लो वर्षको तुलनामा कम यात्रुले मात्र सार्वजनिक यातायात सेवा प्रयोग गरेको बस व्यवसायी समितिको गुनासो छ।

सर्वसाधारणले निजी सवारी साधनको प्रयोग गरेकाले सार्वजनिक यातायात प्रयोग गर्नेको संख्या घटेको अनुमान समितिको छ। अन्य वर्षको तुलनामा यो वर्ष दशैं मनाउन स्वदेश तथा विदेशबाट पुर्खौली थलो फर्किने यात्रुको संख्या घट्नुको पछाडि आर्थिक मन्दीको असर रहेको सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदम सापकोटाले बताए।

‘यो वर्ष आर्थिक मन्दीको कारण भारत तथा देशका अन्य क्षेत्रबाट दशैं मनाउन सुदूरपश्चिमका  पहाडी जिल्ला फर्किने यात्रु घटेको अनुमान गरेका छौं,’ उनले भने, ‘विगत वर्षहरूमा दशैं मनाउन भारतबाट घर फर्किने यात्रुको भीड दस दिनसम्म लाग्ने भए पनि यो वर्ष दुई दिन मात्रै भारतबाट घर फर्किने यात्रु बोक्न मिल्यो। त्यसकारण पनि यो वर्ष यात्रुको संख्या घटेको हो।’

धनगढीबाट दशैं मनाउन असोज २८ गतेदेखि कात्तिक ४ गतेसम्म सबैभन्दा बढी यात्रु पहाडी जिल्लाका लागि प्रस्थान गरेको पाइएको छ। सात दिनको अवधिमा धनगढी बसपार्कबाट तीन हजार १८५ जना यात्रुले डोटीका लागि टिकट काटेको पाइएको छ। यसैगरी बैतडीका लागि दुई हजार दुई सय जनाले टिकट काटेका छन् भने ८४ बसमा दुई हजार ७७२ जनाले धनगढीबाट अछामको यात्रा तय गरेका छन्।

दशैंको सात दिनको अवधिमा बझाङका लागि एक हजार पाँच सय, बाजुराका लागि एक हजार २८० र डडेल्धुराका लागि ५६० यात्रुले टिकट काटेको तथ्यांकले देखाएको छ। यो वर्ष सार्वजनिक यातायात प्रयोग गर्नेको संख्या घट्नुमा आर्थिक कारणसँगै दशैंको जमघट तराईमै गर्न चाहनु, निजी सवारी साधनको प्रयोग बढ्नु लगायत कारण रहेको बस व्यवसायीहरूको ठहर छ।

आर्थिक मन्दीको असर यो वर्ष दशैंका लागि हुने आवतजावतमा परेकाले यातायात व्यवसायीको विगत वर्षभन्दा कम आय भएको छ। दशैं मान्न र देवी देवताको पूजाआजा गर्न पुर्ख्यौली गाउँमा जाने क्रम यो वर्ष घट्नुले सर्वसाधारणको क्रय शक्ति र आर्थिक हैसियतमा गिरावट आएको अनुमान गरिएको छ।

धेरैजसोले कैलाली र कञ्चनपुरमै पारिवारिक जमघट गर्न रुचाएको, साना तथा निजी सवारी साधनको प्रयोग बढेकाले पनि सार्वजनिक यातायात प्रयोग गर्ने यात्रुको संख्यामा कमि आएको सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष सापकोटाले बताए। धनगढीबाट चल्ने यातायात प्रालिहरूले कैलाली, कञ्चनपुर र भारतबाट आउने यात्रुलाई सुदूरपश्चिमका पहाडी जिल्लामा पुगाउने गरेका छन्। यो वर्ष भारतबाट स्वदेश फर्किने यात्रुको संख्यामा गिरावट आएकाले दशैंको समयमा सार्वजनिक यातायात प्रयोग गर्नेको संख्या घटेको देखिएको छ।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस