सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र बेल्जियमकी सभामुखबीच भेटवार्ता

२०८० कार्तिक ९, ०५:२५ खबर संवाददाता

काठमाडौँः  राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र बेल्जियमको सिनेटका सभामुख स्टेफाइन डी होसबीच भेटवार्ता भएको छ। अन्तरव्यवस्थापिका संघ (आइपियू)को १४७औँ महासभामा भाग लिन एंगोलामा रहेका सभामुख तिमिल्सिना र डी होसबीच भेटवार्ता भएको हो। भेटवार्ताका क्रममा अध्यक्ष तिमिल्सिनाले नेपाल र बेल्जियमबीचको आपसी सम्बन्ध सदभाव, विश्वास र पारस्परिक सम्मानले चिनिएको बताउँदै दुवै मुलुकले अन्तर्राष्ट्रिय मञ्चहरूमा साझा धारणा राख्दै आएको स्मरण गरे।

नेपाल र बेल्जियमबीचको सम्बन्ध प्रगाढ बनाउन दुई देशका संसदहरूको महत्वपूर्ण भूमिका रहेको उनले जिकिर गरे। ‘नेपाल र बेल्जियमबीचको सम्बन्ध प्रगाढ बढाउन दुई देशका संसदहरूको महत्वपूर्ण भूमिका रहेको छ,’ अध्यक्ष तिमिल्सिनाले भने, ‘संसदीय अनुभवको आपसी आदान–प्रदानमार्फत संसदीय लोकतन्त्रलाई परिष्कृत गर्दै आफ्ना नागरिकहरूको हकअधिकार सुनिश्चित गर्ने प्रक्रियालाई सबल बनाउने अवसर हाम्रोसामु रहेको छ।’ उनले नेपालमा हिमाल आरोहण र पदयात्रा पर्यटनमा बेल्जियमका नागरिकका बीचमा लोकप्रिय भएकाले उल्लेख्य संख्यामा पर्यटकहरूलाई नेपाल आउने वातावरण बनाउन सक्दा त्यसबाट नेपालको आर्थिक र सामाजिक क्षेत्रमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे।

भेटवार्ताका क्रममा बेल्जियमकी सभामुख डी होसले नेपाल र बेल्जियमका बीचमा धेरै समानता रहेको बताउँदै जलवायु परिवर्तनको असर कम गर्न र मानव अधिकारको प्रवर्द्धन गर्न सहकार्य गर्न सकिने कुरामा जोड दिइन्।
 

कमेन्ट लोड गर्नुस