सुदूर नेपाललाई विश्वसँग जोड्दै

इजरायलमा रहेका सबै नेपालीलाई अनलाइन विवरण भर्न दूतावासको आग्रह

२०८० कार्तिक ५, ०८:३० खबर संवाददाता

काठमाडौँः  इजरायलमा रहेका सम्पूर्ण नेपालीहरूले अनलाइनमार्फत आफ्नो विवरण भर्नुपर्ने भएको छ। इजरायलस्थित नेपाली राजदूतावासले सञ्चालनमा ल्याएको अनलाइनमा आफ्नो विवरण भर्नुपर्ने भएको हो। यसअघि घर फर्किन चाहनेहरूको लागि मात्र अनलाइन फर्म खुला गरिएको थियो।

तर, अब इजरायलमा रहेका सम्पूर्ण नेपालीलाई आफ्नो विवरण दूतावासको अनलाइन प्रणालीमार्फत भर्न भनेको छ। इजरायल र हमासबीचको द्वन्द्व झन् चर्किँदै गएको भन्दै दूतावासले यस्तो आह्वान गरेको हो। भोलिको दिनमा कुनै निर्णय लिनुपर्ने अवस्था आएमा सजिलो होस भनेर दूतावासले सबै नेपालीलाई आफ्नो अवस्थाबारे जानकारी गराउन भनेको छ।

इजरायलमा बस्ने नेपालीहरूको सुरक्षाप्रति दूतावास गम्भीर रहेको भन्दै परिस्थिति बिग्रँदै गए कुनै आकस्मिक निर्णय गर्नुपर्ने अवस्था आउन सक्ने दूतावासले जनाएको छ। त्यसका लागि सबै नेपालीसम्म सहजै पुग्न सकियोस् भनेर दूतावासले विस्तृत विवरण सङ्कलन थालेको हो। दूतावासको वेबसाइटमा राखिएको तथ्याङ्क सङ्कलन फर्म अनिवार्य भर्न सबैमा अनुरोध गरेको छ।
 

कमेन्ट लोड गर्नुस