सुदूर नेपाललाई विश्वसँग जोड्दै

खेलकुद विकास समिति कैलालीका अध्यक्षको बबन्डर, खेलाडीमाथि नै कुटपिट

२०८० कार्तिक ५, ११:२२ खबर संवाददाता

धनगढीः जिल्ला खेलकुद विकास समिति कैलालीमा हिजो (शनिबार) बबन्डर मच्चिएको छ। बबन्डर मच्चाउनेमा अरु कोहि नभएर खेलकुद विकास समितिका अध्यक्ष ललित खत्री आफै सामेल भएको खुलेको हो।

उनले एक जना खेलाडीमाथि नै हात परेका छन्। ती खेलाडीलाई गालीगलौज गर्दै अध्यक्ष आफैले कुटपिट गरेको विषय बाहिर आएको छ। जिल्ला खेलकुद विकास समिति कैलालीभित्र दारुपाटी राखेर अध्यक्ष खत्रीले बबन्डर मच्चाएको पीडित खेलाडीले गुनासो गरेका छन्। जबरजस्ती अध्यक्षले खेलकुद विकास समितिमा बोलाएर दुव्र्यवहार गर्नुका साथै मुखमा हानेर ती खेलाडीलाई घाइते समेत बनाएका छन्।

जबकी खेलकुद विकास समितिभित्र कुनै पनि बहानामा रक्सीपाटी गर्न नपाइने नियम छ। तर कार्यालयभित्र अध्यक्ष खत्रीले रक्सीपाटी गरेर ती खेलाडीलाई आमा चाकरी गर्दै गाली गरेको अडियो समेत दिनेश खबरलाई प्राप्त भएको छ। सो अडियोमा अध्यक्ष खत्रीले सुन्नै नसकिने गरी गालीगलौज गरेका छन्।

पीडित खेलाडीले सार्वजनिक स्थानमा त्यो पनि जिल्ला खेलकुद विकास समितिभित्र रक्सीपाटी गरेर आफुमाथि दुव्र्यहार र कुटपिट गरेको भन्दै हिजो नै जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका छन भने जिल्ला प्रशासन कार्यालयलाई घटनाको विषयमा जानकारी गराएका छन्। रक्सीले मातिएका अध्यक्ष खत्रीले गुण्डागर्दी शैलीमा उनीमाथि आक्रमण गरेको विषय प्राप्त अडियोबाट पनि प्रष्ट देखिएको छ।

खेलकुद विकास समितिको अध्यक्षजस्तो व्यक्तिबाटै एउटा खेलाडीमाथि यस्तो व्यवहार हुनु कुनै पनि हालतमा स्वीकार्य नहुने भन्दै उनलाई तत्काल कारबाहीको दायरामा ल्याउन समेत पीडितको माग छ। यस विषयमा अध्यक्ष खत्रीसँग बुझ्न पटकपटक सम्पर्क गर्दा पनि उनले फोन उठाउन मानेका छैनन्। अध्यक्ष खत्रीले राखेको दारुपाटीमा करिब १० जना सहभागि रहेको बुझिएको छ।

कमेन्ट लोड गर्नुस